सुदूरपश्चिमको राजधानीका पूर्वाधार बन्न सकेनन् : सांसद बलायर

आजभोलि

काठमाडौँ । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीमा तोकिए पनि हालसम्म कुनै पूर्वाधार बन्न नसकेको भन्दै सम्बन्धित निकायको ध्यानाकषर्ण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने,“भोगाधिकार किन रोकिएको हो ? सुदूरपश्चिमले राष्टिय गौरवको कुनै पनि योजना पाउन सकेन ।” उनले सुदूरपश्चिमको मेडिकल कलेजमा घाँस उम्रिएको भए पनि सञ्चालनका लागि ठोस् पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

संविधानमा हस्ताक्षर गर्ने सबैको कर्तव्य यसको रक्षा गर्नु भएको उनको भनाइ थियो । नेता बलायरले व्यवसायी पीडित हुने, बैंक नाफामा जाने अवस्थाको अन्त्य हुनुपर्ने, थारुका समस्या समाधान हुनुपर्नेलगायत विषयमा आफ्ना धारणा व्यक्त गरे ।

संविधानको मान्यताविपरीत मन्त्रीले बोल्नुहुँदैन : सांसद पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री र वरिष्ठ मन्त्रीले संसद् चलेका दिन एक÷डेढ घण्टा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गर्न माग गरेका छन् । उनले भने, “संविधानको आधारभूत मान्यताविपरीत नजान मन्त्रीहरुलाई आग्रह गर्छु, प्रधानमन्त्रीले राष्ट्रियसभामा बोलेको भोलिपल्ट सहरी विकास मन्त्रीले राप्रपाले सङ्घीयता र धर्म निरपेक्षता स्वीकार नगरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आएको छ ।”

सार्वजनिक विषयमा प्रधानमन्त्री र मन्त्रीका कुरा बाझिनु लोकतन्त्रका लागि राम्रो नभएको टिप्पणी गर्दै उहाँले मन्त्रिपरिषद्मा बसेर संविधानविरोधी कुरा बोल्न नहुने बताए । नेता पन्तले नेपालमा धर्म परिवर्तन गरी बढिरहेको क्रिश्चियन धर्मको विस्तारप्रति चिन्ता व्यक्त गरे । उनले दलितलाई मन्दिरमा पस्न नदिने कुरामा सुधार गरिनुपर्ने विषयमासमेत धारणा व्यक्त गरे ।

चुनौती सामना गर्न राष्ट्रिय सहमतिको आवश्यकता : सांसद बस्नेत

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले राष्ट्रिय चुनौती सामना गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकामा जोड दिए । वृहत्तर राष्ट्रिय सहमतिले राष्ट्रिय चुनौती सामना गर्न सहयोग पुग्ने उनको धारणा थियो । उनले भने, “राजनीतिक व्यवस्थाले खोजेको अवस्था नहुँदा नीति र विधिअनुरुपको व्यवहार नभएको हो, जनताका मौलिक हकको कार्यान्वयनका लागि ऐन अझै बन्न सकेको छैन, काम गर्ने तरिका नबदलिँदाको यो समस्या हो ।”

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तराई–मधेशका पुरातात्विक सम्पदाले आवश्यक संरक्षण नपाउँदा तिनको परिचय र अस्तित्व कमजोर भएको बताए । उनले जनकपुरको जानकी मन्दिरमा प्राचीन ढुङ्गा हटाएर मार्वल हालेको विषयमा ध्यानाकर्षण गराउँदै मन्दिरमा विद्युतीकरणका काममा भ्रष्टाचार भएको आरोप लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले राष्ट्रिय गौरवका आयोजनाका काम प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताउँदै सिक्टा सिँचाइ आयोजना सफल कार्यान्वयन हुन नसकेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले प्रेम आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् हो भने। साथै उनले संविधान अनुसार शपथ खाएर त्यस विपरीत बोल्नु संविधान विपरीत हुने धारणा व्यक्त गरे ।

  • १८ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !