गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको विवाद अझ चुलिँदै गएको छ ।
बेलाबेला विवादमा आइरहने नेपाल क्रिकेट सङ्घ ९क्यान०को पछिल्लो विवादको कारण सोही लिग बन्न पुग्यो । खेलमा ‘स्पट फिक्सिङ’ भएको प्रमाणित भएपछि प्रतियोगिता नै विवादमा तानियो ।
सो विषयले क्यानभित्र पनि फाटो ल्यायो । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापले नेपाली क्रिकेट बदनाम भएको भन्दै क्यान पदाधिकारीको राजीनामासमेतको माग उठ्यो । सात केन्द्रीय सदस्यले मङ्गलबार पोखरामा बसेको क्यानको बोर्ड बैठक नै बहिष्कार गरे ।
क्यानको आफ्नै प्रतियोगितामा खेल मिलेमतो भएकाले यसको सम्पूर्ण जिम्मेवारी कार्यसम्पादन समितिले लिनुपर्ने असन्तुष्ट पक्षको माग छ । क्यानले लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी ‘सेभेन थ्री स्पोटर््स’लाई दिएको थियो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने नेपाली क्रिकेटकै हित सोचेर भारतीय कम्पनीसँग सम्झौता गरिएको बताए । सोको निर्णय गर्दा बोर्डका सबै सदस्यको सहमति रहेको उनको भनाइ छ । “लिग सञ्चालन गर्दा भएका सामान्य प्रक्रियागत त्रुटिलाई लिएर राजीनामा नै माग गर्नु अनुचित छ”, उनले भने, “क्यानमा अनावश्यक विवाद सिर्जना गरी नेपाली क्रिकेटको भविष्यलाई अन्धकारतिर धकेल्ने नियतले एउटा पक्ष लागेको छ ।”
अध्यक्ष चन्दले क्यानको विधानले तोकेबमोजिम सदस्यको दस्तखस्त लिएर आए आफू विशेष साधारणसभा डाक्न तयार रहेको उल्लेख गरे । “बाहिर राजीनामा माग्दै हिँडेर केही हुँदैन, क्यान आफ्नो विधानले चल्छ”, उनले भने ।
आउँदो फागुनमा साधारणसभा र जेठभित्र विशेष साधारणसभा गरी निर्वाचन गर्ने निर्णय बोर्ड बैठकबाट भइसकेकाले यो विषय उछाल्न आवश्यक नरहेको अध्यक्ष चन्दले बताए । “लिगलाई किन यति नकारात्मक पाटोबाट मात्र हेरिँदैछ, नेपाली खेलाडीले १५ दिन खेलेर १५ लाख कमाउने वातावरण बनाएको क्यानले होइन ? ”, उनले भने, “स्पट फिक्सिङमा संलग्न जोसुकै पदाधिकारी, खेलाडी वा कोही सदस्य भए पनि कारवाही हुन्छ ।”
क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टी–२० लिग आयोजनाका लागि आठ वर्षको सम्झौता भएको थियो । सोबापत सेभेन थ्री स्पोर्टस्ले रु ३३ करोड दिने सम्झौता थियो । लिगमा स्पट फिक्सिङ भएको, खेलाडीले समयमै पैसा नपाएको, अपारदर्शितालगायत विषयमा विवाद उत्पन्न भएको थियो ।
स्पट फिक्सिङको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले क्यान र सेभेन थ्री स्पोर्टस् कम्पनीमाथि छानबिन गरिरहेको छ । खेल मिलेमतोको आरोपमा केही खेलाडीलाई पक्राउसमेत गरिएको छ । टी–२० लिगमा भएका अवाञ्छित क्रियाकलापमा केन्द्रीय कार्यसम्पादन समिति जिम्मेवार रहेकाले राजीनामा माग गरिएको असन्तुष्ट पक्षका केन्द्रीय सदस्य ऋषिराम गौतमले बताए ।
लिगलगायतका विषयमा कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरिएको र बोर्डलाई कुनै जानकारी नगराइएको उहाँको आरोप छ । नेतृत्व गैरजिम्मेवार बन्दा क्यान निलम्बनमा पर्ने देखिएकाले आफूहरू विरोधमा उत्रेको असन्तुष्ट पक्षको तर्क छ ।
केन्द्रीय सदस्य गौतमले भने, “राखेपले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा क्यानले गम्भीर गल्ती गरेको निष्कर्ष निकालिएको छ । राखेपलाई क्रिकेट सङ्घ विघटन गर्न सिफारिस गरिएको छ । क्यान निलम्बनको खतरामा छ ।”
क्यानको साख र मर्यादा बचाउनका लागि सम्पूर्ण निर्णय र काम कारबाही अगाडि बढाउने कार्यसम्पादन समिति र गभर्निङ काउन्सिलका सदस्यको राजीनामा नै नेपाली क्रिकेट बचाउने एक मात्र उपाय भएको उनको भनाइ छ ।
“अहिले हामीले टी–२० लिग, क्यान र सेभेन थ्री स्पोर्टस्बीच भएको सम्झौताका बारेमा मात्र आवाज उठाएका छौँ । आगामी दिनमा क्यानका अन्य विषयसमेत विस्तारै बाहिर ल्याउँदै छौँ”, केन्द्रीय सदस्य गौतमले भने ।
क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्यानको विवादले नेपाली क्रिकेटको विकासमा असर पुग्ने बताउनुभयो । नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ । “क्यानको विवादले नेपाली खेलकुद जगत्मा राम्रो सन्देश गएको छैन, यसको बेलैमा निरुपण हुनुपर्छ”, उनले भने ।
क्यानको आसन्न चुनावलाई लिएर नेतृत्वको टकराव सिर्जना भएको कतिपयको बुझाइ छ । क्यानलाई कसले हातमा लिने भन्ने दाउले सिङ्गै नेपाली क्रिकेटको भविष्य नै धरापमा पर्ने हो की भन्ने चिन्ता खेलप्रेमीमा छ ।
विसं २०७६ असोजमा सम्पन्न भएको अधिवेशनबाट चार वर्षका लागि चन्द क्यानको नेतृत्वमा आएका थिए । उनले कार्यकाल सकिनुअगावै आउँदो जेठ मसान्तभित्र विशेष साधारणसभाको आयोजना गरी निर्वाचन गर्ने घोषणा गरेका छन् ।