काठमाडौं । बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई आज कारागार चलान गरिएको छ । प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक समेत रहेका कैलाली क्षेत्र नं. २ बाट निर्वाचित चौधरीलाई शुक्रबार कार्यालाय खुल्नासाथ १० बजे नै अदालत पेस गरिएको थियो ।
फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बाँकेमा बिहीबार पक्राउ परेका हुन् । चौधरीलाई कोहलपुरबाट पक्राउ गरिएको थियो ।
चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।
उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो । तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए ।