फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

आजभोलि

काठमाडौं । पहाडको शिरमा पुर्खादेखि मिलेर बसेको सानो गाउँ । घरछेउको भिरालो बारी । रहनसहन र चालचलनमा गाउँले झझल्को दिने परिवेशमा ढकमक्क फुलेका फूल । झट्ट हेर्दा कुनै तराईका फाँटमा गन्यमान्यले घर सजाउन रोपेका फूलका बगैँचाजस्तै लाग्छ ।

तर यो त विगत १५ वर्षदेखि व्यावसायिक पुष्पखेती गर्दै आएका कृषक कमानसिंह दर्लामीको व्यवसाय हो । उमेरले ६३ वर्ष कटेएका दर्लामीले कुनै चलनचल्तीको व्यवसाय भने गरेका होइनन् । सुन्दा अच्चम लाग्ने तर दाम, नाम र इज्जत कमाएरै फूलखेतीबाट दैनिकी चलाउँदै आएका छन् ।

तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ । अर्घाखाँचीलगायत कपिलवस्तु, रूपन्देही, दाङ, नवलपरासीसम्म पुष्प व्यवसायका रूपमा नाम कमाएका दर्लामीले यसैबाट दैनिकी चलाउँदै आएका छन् । पुष्पखेतीबाट मासिक रू ३५ हजारसम्म आम्दानी गर्ने उनले बताए । सानै उमेरदेखि फूलका सौखिन दर्लामीले कुनै बेला यसरी फूलको खेती गरिएला भन्ने सोचेका थिएनन् ।

“सानैदेखि आर्टको काम गर्दै आएको हुँ, आर्टको काम गर्दा थुप्रै चित्र बनाएको छु । त्यही पेसा गर्दैगर्दा पुष्पखेती गर्ने सोच पलायो । शोखले गरेको पुष्पखेती एकाएक फैलिएर व्यवसायका रूपमा परिणत भयो”, दर्लामीले भने ।

छ सन्तानका बाबु उनी जागिरको सिलसिलामा भारतका विभिन्न स्थानसम्म पुगेका छन् । नेपालमै केही वर्ष अध्यापनको अनुभव पनि छ ।

उनले आफ्नो साढे छ रोपनी जग्गामा पुष्पखेती गरेको बताए । बाह्रै महिना फुल्ने फूल लगाएका उनले विशेषगरी तिहारमा बढी प्रयोग गरिए पनि अघिपछि त्यति प्रयोग नगरिने अनुभव सुनाए । फूलको व्यापार पनि मौसमअनुसार हुने उनको भनाइ छ । उनले भने, “बाह्रै महिना मेरो माग बढ्दो छ । फूलमात्रै नभएर फूलका बिरुवा पनि उत्पादन गर्ने गरेको छु । मैले उत्पादन गरेका फूलका बिरुवा ठूला नर्सरीमा लगाउँछन् ।”

अहिले उनले यिनै फूल लिएर कपिलवस्तु झरेका छन् । यही माघ १७ गतेदेखि जारी कपिलवस्तु महोत्सवमा उनले फूलको स्टल राखेका छन् । केही वर्षयता कपिलवस्तु महोत्सवमा स्टल राख्दै आएका उनले यस वर्ष पनि निरन्तरता दिएको बताए । महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई उनले फूलखेती लगाउने तरिका पनि सिकाउने गरेका छन् । कतिपयले महोत्सवबाट घरमा शोभाका लागि फूलका बिरुवा किनेर लैजाने गरेको उनले सुनाए ।

कृषि तथा पर्यटन महोत्सवमा आयोजकले आफूलाई स्टल ल्याउन आग्रह गरेकाले यहाँ आएको उनले सुनाए । कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने महोत्सवमा आफूले स्टल लैजाने गरेको उनले बताए ।

पुष्प व्यवसायी दर्लामीले लालुपाते, गजेनियाँ, हेसराज, बेगुनिया, जिरेनियम, डगफ्लावर, सयपत्री, टिकुमा, कृष्णकली, सालविया, गोदावरीलगायत दुई दर्जनभन्दा बढी जातका फूल लगाउने गरेका छन् । उनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् भने अन्य चार–पाँच जनालाई सिजनअनुसार जागिर दिँदै आएको उनले बताए ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !