किसानको सहयोगी बन्दै ‘सहकारी’

आजभोलि

महेन्द्रनगर । कञ्चनपुरको ग्रामीण बस्तीमा पछिल्लो समय विभिन्न आयमूलक कृषि व्यवसाय अँगालेका किसानलाई सहकारी सहयोगी बन्दै गएको छ।

कम आयस्रोत भएका किसानले बस्तीमा किसानकै नेतृत्वमा बनेका सहकारीमा मासिक बचतदेखि सहुलियत ऋणसम्मको सुविधा पाउने भएकाले उनीहरुलाई आत्मनिर्भर बन्न सहज भएको हो ।

कञ्चनपुरका नौवटै पालिकाकामा रहेका सहकारीमा किसान आवद्ध भइ तरकारी खेती, पशुपालन, कुखुरा पालन, बङ्गुरपालन, माछापालनलगायत व्यवसायमा सक्रिय हुने क्रम बढिरहेको छ । त्यस्तै यहाँ आर्थिक गतिविधि फराकिलो भएका ठूला सहकारी र विभिन्न दातृ निकायले पनि गाउँमा कृषि सहकारी र समूहमा आवद्ध किसानलाई अनुदान एवं प्राविधिक सहयोग पनि गर्दै आएका छन् ।

बस्तीमा एकजुट बगरखेती किसान समूह गठन गरेर आफूहरु तरकारी खेतीमा लागेको कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउका सुदराम चौधरीले बताए । न्यून आयस्रोत भएका यहाँका बीस राना र चौधरी समुदायका किसान मिलेर सञ्चालनमा ल्याइएको उक्त समूहमा मासिक बचत समेत गर्ने गरिएको छ ।

‘समूहका सदस्यले मलखाद किन्नेदेखि व्यवसाय बढाउन धेरैजसो समूहबाट ऋण लिने गर्छन् ।’ उनले भने, ‘मासिक ५० बचत गछौँ ।’ यहाँ सहकारीमा आवद्ध किसानले सामूहिकरुपमा दोदा नदीमा तरकारी खेती गरेर मुनाफा लिइरहेका छन् । त्यसैगरी भीमदत्त नगरपालिका–१० तिल्केनीस्थित खप्तड कृषि सहकारी संस्था पनि यस क्षेत्रका किसानको सारथी नै बनेको छ ।

उक्त सहकारीले पछिल्लो समय दुग्ध व्यवसायीलाई आयमूलक व्यवसायमा आवद्ध गराउँदै आएको छ । सो क्षेत्रमा व्यावसायिकरूपमा केराखेती गर्ने अधिक छन् । यहाँ उक्त सहकारी र कृषि ज्ञान केन्द्रको सहयोगमा केरा चिस्यान घर–निर्माण गरिएको उक्त सहकारीका अध्यक्ष पूर्णसिंह साउदले बताए ।

‘दुई सय दूध सङ्कलक र अन्य किसानसहित चार सय बढी शेयर सदस्य छन् ।’ उनले भने, ‘व्यावसायिकरूपमा कृषि पेसामा आवद्ध किसान लाभान्वित छन् ।’ यहाँस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले सहकारीका माध्यमबाट चार हजार कृषक कृषिमा जोडिएको बताए।

‘सहकारीमा आवद्ध सदस्यलाई कृषि उत्पादन र आत्मनिर्भर बनाउने विषयमा सहकारी सक्रिय छ’, उनले भने, ‘ऋण लगानीदेखि बचतसम्म गरिरहेका किसानलाई बीउविजनदेखि मलखाद हुँदै कृषि उपकरणमा सहयोगसमेत भइरहेको छ । कृषि उपकरणका लागि अन्य निकायसित पनि समन्वय गरेर वितरण गरिरहेका हुन्छौँ। कृषिसँग सम्बन्धित धेरै काम सहकारीले गर्दै आएको छ ।’

लालझाडी गाउँपालिका–३ पर्सियाका रेखा रानाले सहकारीबाटै ऋण लिएर च्याउ खेती गरिरहेको बताए । ‘गाउँमै हामी महिलाले किसान समूह बनाएर बीउविजन उत्पादनदेखि बाख्रापालन र च्याउखेती गरिरहेका छौँ ।’ उनले भने, ‘व्यवसाय गर्नेका लागि सहकारीको सहयोगले थप बल पुगेको छ । च्याउ खेतीबाट भएको आम्दानीले मासिक बचतका साथै घरखर्च पनि सामान्य रुपमा चलिरहेको छ।’

किसान समूहलाई वडा कार्यालय र दातृ निकायबाट पनि बेलाबेला सहयोग आइरहने भएकाले गृहणी महिला आत्मर्भिर पनि बन्दै गएका कृषक रानाले बताए। वर्षौसम्म भारतमा मजदूरी गरेका गाउँका युवा पनि अहिले गाउँमै तरकारी खेतीलगायत काममा लागेका र सहकारीले स्वरोजगार बनाउन पनि सहयोग पुर्‍याउँदै आएको छ ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !