न्यूयोर्क : एप्पलको बजार मूल्य १० खर्ब अमेरिकी डलर पुगेको छ ।
बिहीबार वाल स्ट्रिटमा प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएसँगै एप्पल सबैभन्दा ठूलो कम्पनी भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै सेयर मूल्यले नयाँ उचाई छोएको हो ।
यो ऐतिहासिक सफलता खासगरी सन् २०११ यता प्रमुख कार्यकारीका रुपमा नियुक्त भएका टीम कूकका लागि विशेष महत्वको छ । एप्पलका संस्थापक स्टीभ जब्स गम्भीर बिरामी भएपछि प्रमुख कार्यकारीको पदमा नियुक्त उनीमाथि कम्पनीलाई प्रतिस्पर्धी बनाउन चौतर्फी दबाब थियो । एप्पलका संस्थापक जब्सको अक्टोबर २०११ मा निधन भएको थियो ।
स्टीभ जब्सको निधनपछि, विश्लेषकहरु र अरु उद्योग क्षेत्रका जानकारहरुले जब्सले झैं कूकले नयाँनयाँ र विशिष्ट प्रविधि भित्र्याउने कुरामा शंका व्यक्त गरेका थिए ।
तर कूकले ठोस वित्तीय नतिजासँगै विस्तारै लगानीकर्ताबाट स्याबासी बटुल्न सफल भए र एप्पलका उत्पादनहरु उनले चीन र अरु विदेशी बजारमा विस्तार गर्न सक्षम भए । यो स्तरमा पुग्ने एप्पल नै पहिलो निजी क्षेत्रको कम्पनी हो । सन् २००७ मा राज्य सञ्चालित कम्पनी पेट्रोचाइनाले मात्र १० खर्ब डलरको बजार मूल्यको सीमारेखा पार गरेको थियो, तर त्यसयता यसको बजार मूल्य लगातार खस्केको थियो ।
“हो, मलाई एप्पलको सफलताप्रति गर्व छ, तर अङ्क मात्र पनि केही होइन भन्ने बुझ्नु आवश्यक छ,” कम्पनीका सहसंस्थापक वज्नियाकले याहू फाइनान्सलाई बताउनुभएको छ ।
अमेरिकी प्रविधि कम्पनीहरुले फैलिदो बजारमा आफ्नो प्रभावलाई राम्रैसँग स्थापित गरेका छन्, र अहिले सेयर मूल्यका आधारमा पाँच उत्कृष्ट कम्पनीमा पहिचान बनाएका छन् । एप्पलको पछिपछि एमेजोन, गुगल, माइक्रोसफ्ट र फेसबुक छन् ।
विश्व बैंकको सन् २०१६ को तथ्याङ्क अनुसार, १० खर्ब डलर भनेको इन्डोनेसियाको झण्डै वार्षिक कूल गार्हस्थ्य उत्पादन बराबर हो, र बेल्जियमको भन्दा दोब्बर हो ।
अमेरिकी सेयर बजारको मुख्य परिसूचक डाउले पनि पहिलोपटक २५,००० विन्दु पार गरेको छ । योसँगै एप्पलले पनि नयाँ उचाई छोएको हो । “१० खर्ब डलरको उचाई छुनु भनेको मनोवैज्ञानिक कुरा हो, र यसले बजारमा वृद्धि र आकार दुवैमा कम्पनीको प्रभाव बलियो रहेछ भन्ने सन्देश दिन्छ,” एस एन्ड पी डाउ जोन्सका वरिष्ट विश्लेषक होवार्ड सिल्भरब्लाटले बताउनुभयो ।
सन् २००७ मा स्टीभ जब्सले आइफोनको पहिलो मोडेल सार्वजनिक गरेयता हालसम्म एप्पलले एक अर्बभन्दा बढी मोबाइल सेट बिक्री गरिसकेको छ । सेयर पुनः खरिद गर्न एप्पलले अर्बौं डलर खर्च गरेका कारण पनि एक खर्ब डलरको बजार मूल्य कायम गर्न मद्दत पुगेको बताइन्छ ।
कम्पनीले मोबाइलको हार्डवेयर र सफ्टवेयरमा नियन्त्रण गर्ने विशिष्ट प्रविधि अपनाएको छ, र मोबाइल प्रयोगकर्ताले एप स्टोरबाट आफूलाई चाहिएका एप्सहरु डाउनलोड गर्नु पर्दछ जसका कारण राजश्वमा थप वृद्धि भएको छ ।
पछिल्लो पटक अमेरिका–चीन व्यापार विवाद, बौद्धिक अधिकार तथा प्रविधिमा आएका नयाँनयाँ चुनौतीका कारण कम्पनीले सङ्घर्ष गर्नु परेको छ । एएफपी