लीलानाथ घिमिरे
वितेको साता हामीले निकै सकसपूर्ण अबस्था गुजार्यौं । माइजूको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो । अनेक प्रयासका बाबजुद हामीले हाम्री माइजूलाई बचाउन सकेनौं । उहाँले ३ भाइ, ५ बहिनीलाई मात्र छाडेर जानु भएन, मामालाई एक्लो बनाउनु भयो । मेरो ९९ बर्षको मावली हजुरबुबा सहाराबिहीन हुनु भयो । हामी भान्जाभान्जी मावलमा माइजूबिहीन भयौं ।
राजधानीको नख्खुस्थित मेडिसिटी अस्पतालमा मेरी माइजू सीता पौडेलको उपचारका क्रममा मैले भोगेको पीडाले मेरो मस्तिष्कभरि धेरै प्रश्नहरु उब्जाइ दिएका छन् । यी प्रश्न पाठकहरुसमक्ष बहसका लागि छाड्नुअघि घटनाको तथ्यमा यहाँहरुलाई पुर्याउन चाहन्छु ।
सानुबुबा राधाकृष्ण घिमिरेले मंगलबार एकाबिहानै फोन गरेर माइजूलाई मस्तिष्क रक्तश्राव भएकाले सिन्धुलीबाट काठमाडौं ल्याउन हेलिकप्टरको ब्यवस्था गर्न सकिन्छ कि भनेर मलाई सोध्नुभयो । मैले साथीहरुको सम्पर्क खोज्न थालेँ । अन्नपूर्ण पोष्टमा काम गर्ने मेरा मित्र मनोज बस्नेतमार्फत सिम्रिक एयरमा सम्पर्क गरेँ । सिम्रिकको हेलिकप्टर लुक्ला गएको रहेछ । त्यसपछि सेनाको हेलिकप्टरका लागि प्रयास गर्न साथी डण्ड गुरुंगलाई भने ।
माइजू एकाबिहानै बेहोस भएर ढल्नु भएछ । उहाँलाई घरबाट मानिसले बोकेर कमला नदी तारियो । त्यसपछि एम्बुलेन्समा राखेर सिन्धुली अस्पतालसम्म ल्याइयो । मामा रामचन्द्र र भाइ लक्ष्मण माइजूको साथमा हुनुहुन्थ्यो । लक्ष्मणसँग माइजूको अवस्थाबारे जानकारी लिँदै यता हेलिकप्टर खोज्न प्रयास गरिरहेँ । उता लक्ष्मणलाई पनि जिल्ला अस्पतालका चिकित्सकको सम्पर्कमार्फत कुनै उपाय लगाउन सकिन्छ कि भनेर लगाइरहेँ ।
हाम्रोे सिन्धुली सडक सञ्जालले जताततैबाट जोडिए पनि स्वास्थ्य उपचार सेवाको दृष्टिले अत्यन्तै दुर्गम जस्तै छ । सदरमुकाममा सामान्य अस्पताल छ । जटिल रोगको उपचार गर्न राजधानी आउनै पर्छ । नजिकै हवाइ सेवाको सुविधा पनि छैन ।
धेरै प्रयासपछि साथी डण्डले ग्राण्डी अस्पतालको हेलिकप्टर लान सकिने बताउनु भयो । सिन्धुली अस्पतालका चिकित्सकमार्फत पनि मेडिसिटी अस्पतालबाट हेलिकप्टरको बन्दोबस्त भएछ । हामीले नेपालका चर्चित ब्यवसायीले खोलेको, सुविधा सम्पन्न, भर्खरै स्थापना भएको र निकै चर्चामा रहेको मेडिसिटीकै हेलिकप्टरलाई प्राथमिकता दियौं ।
माइजूलाई अस्पताल ल्याइयो । यता सबैलाई खबर गरेँ । अप्तालमा जम्मा भयौं । माइजूको अवस्था नाजुक थियो । उहाँ अचेत हुनुहुन्थ्यो । आकस्मिक सेवामा राखेर उपचार सुरु भयो । अस्पतालको उपचारमा हामीलाई पूर्ण भरोसा थियो । उपचार सफल हुनु, नहुनुमा भगवानको भरोसा । हामी अस्पताल प्रांगणमा जम्मा भएर माइजूको स्वास्थ्य लाभको कामना गरिरह्यौं । हामीले धैर्यता गुमाएका थिएनौं । माइजू निको भएर फर्कने आश जिवितै थियो ।
माइजू मेरा लागि आमापछिको आमा जत्तिकै हुनुहुन्छ । मैले मावलमै बसेर एसएलसीसम्मको शिक्षा लिएँ । म ५ बर्षको हुँदादेखि माइजूकै काखमा हुर्किएँ । बाल्यबस्थादेखि किशोराबस्थासम्म उहाँले मातृवास्तल्य प्रदान गर्नुभयो । उहाँले घरबाट टाढा मामाघरमा बस्दा आमाको कमी महसुस हुन दिनु भएन । मेरो खानपान, शिक्षादीक्षामा उहाँले आफ्नो छोरालाई जत्तिकै हेरचाह गर्नुभयो । कतिपय अबस्थामा आफ्नो छोरालाई भन्दा बढी । सायद भान्जो भएको नाताले पनि हुनसक्छ ।
माइजूको यस्तो अबस्थाले मन बेचैन थियो । मामाको बेचैनी झन् खपिनसक्नु थियो । उहाँ बुढेशकालमा माइजूले मृत्युलाई जित्ने आशमा टोलाइ रहनु भएको थियो । भाइबहिनी (मामाका छोराछोरी) को मलिन अनुहारले मेरो धैर्यतालाई चुनौती दिइरहेका थिए । सबैलाई सम्हाल्ने मेरै जिम्मेवारीजस्तै लागिरहेको थियो । मआफैं सम्हालिन नसक्ने अबस्थामा थिएँ । माइजूको उपचारमा कुनै कमि हुन नदिन सानुबुबा राधाकृष्ण र ज्वाईं माधव दौडधुुपमा हुनुहुन्थ्यो ।
अन्ततः चिकित्सकले माइलुलाई आइसियुमा राखेर उपचार गर्ने भए । हामीलाई आइसियुका चिकित्सकले उहाँको क्रिटिकल अवस्थाबारे जानकारी गराए । उहाँको उपचारका लागि चाल्नु पर्ने कदमबारे जानकारी गराए । उपचारका लागि गर्नु पर्ने झण्डै १५ वटा विधिमा हाम्रो मञ्जुरी खोजे । माइजूको त्यस्तो अबस्थामा हामीले यो गर, त्यो नगर भन्ने अबस्थै थिएन । भाइ बैकुण्ठले छोराको नाताले सबै प्रकारका उपचारका स्टेपमा मञ्जुरी दिएर हस्ताक्षर गर्यो ।
माइजूको उपचारमा प्रशिद्ध चिकित्सक गोपालरमण शर्मालगायतको समुख सक्रिय रह्यो । सानुबुबा, म, भाइ बैकुण्ठलगातले उहाँलाई भेटेर माइजूको अबस्थाबारे जिज्ञासा राख्यौं । उहाँले उहाँ शकुशल फर्कने सम्भावना ७० प्रतिशत रहेको भन्दै हामीलाई ढाडस दिनु भयो । उहाँले विरामीको अबस्थामा अलिकति सुधार आउने वित्तिकै सल्यक्रिया गर्ने बताउनु भयो ।
मेडिसिटीको उपचार खर्च हाम्रो पहुँचमा थिएन । पाँचे तारे स्तरको सुविधा भनिएको अस्पतालको शुल्क पनि त्यही अनुसारकै थियो । यद्यपि माइजूको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं । मावली भाइहरु आफैं बन्धकी बसेर पनि माइजूको उपचार गर्न तयार थिए ।
माइजूको बुधबार पनि सल्यक्रिया भएन । उहाँको अबस्था स्थिर रहेकाले गर्न नसकिएको चिकित्सकले बताए । बिहीबार सल्यक्रिया गर्ने आस्वासन दिए ।
दुई दिनको प्रयासपछि चिकित्सकले उहाँलाई बचाउन नसकिएको घोषणा गरे । भाइले मलाई अस्पताल जाँदै गर्दा बाटोमै दुखद खबर सुनायो । मलाई असैह्य पीडा भयो । गाडीमै डाँको छोडेर रुन थालेँँछु । मलाई अरु यात्रुले सान्त्वना दिए । सम्हाले । माइजूलाई गुमाउनु पर्दाको पीडा थामिसक्नु हुने कुरै भएन । तैपनि सम्हालिने प्रयास गरेँ ।
गाडीबाट झरेर दगुर्दै अस्पताल पुगेँ । अस्पताल पुग्दा मामा, भाइबहिनीको रोदन थामी नसक्नु थियो । कसरी थामिनुहोस् मामा । बुढेसकालमा जीवनसाथी गुमाउनुको पीडा अरुले कसरी महसुस गर्न सक्छ ? उता हजुरआमा गुमाएर एक्लो हुनु भएको १०० बर्ष पुग्नु भएको हजुरबुबाको अबस्था के होला ? उहाँ माइजूलाई आफ्नी आमा भन्नुहुन्थ्यो । उहाँलाई बुढेसकालमा चिसोतातो सोध्ने माइजूमात्रै हुनुहुन्थ्यो । यस्तो अबस्थामा बुहारी गुमाउनु पर्दाको पीडा यहाँ शब्दमा बर्णन गर्नै सकिँदैन । अस्पतालमा कोकोहोलो थियो । मआफैं बिक्षिप्त थिएँ । अरुलाई सम्हाल्न गाह्रो भइरहेको थियो ।
आफूलाई सम्हालेर अन्तेष्टीको तयारी गरियो । आर्यघाट बुक गरियो । आफन्तहरु जम्मा हुँदै जानु भयो । शब बाहनको ब्यवस्था गरियो । हामी अस्पतालले कति खेर हामीलाई माइजूको पार्थिव शरीर उपलब्ध गराउँछ भन्ने प्रतीक्षामा थियौं ।
चिकित्सकसँग कुरा गर्न मआफैं आइसियुमा गएँ । त्यहाँ माइजुलाई सामान्यभन्दा पर्दाले बारेर राखिएको थियो । हेरें, माइजूको अनुहार चहकिलो छ । स्वासप्रसावस नियमित जस्तै छ । अक्सिजनको मात्रा ९८ देखाइरहेकको छ । उहाँ मस्त निन्द्रामा रहनु भएको जस्तै लाग्छ । उहाँले हामीलाई छाडेर जानु भएको अनुभूति हुँदै भएन । त्यसपछि चिकित्सकलाई जिज्ञासा राखेँ । उनले भेन्टिलेटरले स्वासप्रस्वास गराइरहेकाले हटाउनासाथ उहाँले आफैं स्वास फेर्न नसक्ने बताए । होला भन्ठाने । चिकित्सकलाई कसरी विश्वास नगर्नू ?
‘हामीलाई कति खेर विदाइ गर्नु हुन्छ ?’ चिकित्सकलाई मेरो प्रश्न ।
‘तपाईंहरु तयार हुनुस् । तपाईंहरुले भन्नासाथ हामी पठाउँछौं,’ उनको उत्तर थियो, ‘अब अन्तिम पटक अनुहार हेर्न कोही आफन्त आउन चाहनुहुन्छ भने ल्याएर देखाइ दिनुस् ।’
त्यसपछि मैले आफन्तहरु सबैलाई एकएक गरि हेर्न पठाएँ । कसैले विश्वासै गर्दैन, अब माइजू हुनुहुन्न भनेर । हामी विल तिर्न गयौं । काउन्टरले आइसियुबाट बिल नआएको बतायो । हामी पुनः आइसियु पुग्यौं । त्यहाँका चिकित्सकले भने, ‘माइजूले आँखा हेर्नु भयो ।’ उनीहरुले माइजू निको हुने आश अझै जिवितै रहेको बताए । खुशीको सिमै रहेन । सीमा हुने कुरै भएन । अन्तेष्टी गर्न लागेको ब्यक्ति जिवितै रहेको खबर सुन्दा कसलाई खुशी नलाग्ला ?
त्यसपछि आइसियुबाट उहाँलाई सिटिस्क्यान गर्न लगियो । त्यतिखेर सबै आफन्तले हेर्न पाए । उहाँको आँखा खुल्लै थियो । सिटिस्क्यान गरेर फर्काउँदा उहाँका आँखा बन्द थिए । भाइ बैकुण्ठ आमालाई हेर्न आइसियुमा गयो । उसले आमालाई झक्झक्याएर बोलाएछ । ‘आमाले मेरो बोली सुनेर आमाले आँखा हेर्नु भयो,’ भन्यो । एकै छिनमा अस्पतालमा खुशियाली छायो । अस्पताल आएका आफन्त विहानैदेखि अन्नपानीविना बसिरहेका थिए । सबै खाजा, पानी खोज्नतिर लागे ।
अस्पतालले त्यसपछि पुन माइजूको उपचार सुरु गर्यो । हामीले आशा जिवितै राख्यौं । अस्तालको मिटर तीब्र गतिमा दौडिरहेको थियो । माइजू सकुशल फर्कने आशमा हामी उहाँको उपचारका सबै उपाय गरिरहेका थियौं ।
माइजूको सुस्वास्थ्यको कामना गर्दै उहाँका छोरा, छोरी, बहिनी, ज्वाईं, मलगगायतले अस्पताललाई छाडेनौं । यस्तो अबस्थामा अस्पतालले माइजूको मृत्यु सम्बन्धि चिचित्सकले दिएको खबर हामीमाथि भद्दा मजाक लागेको थियो । तैपनि पुन उपचार सुरु भएकाले हामी आशावादी थियौं ।
त्यसपछि थप दुई दिन अस्पताल राख्दा पनि माइजूको अबस्थामा सुधार आएन । त्यसपछि उहाँलाई हामीले आफन्तहरु चिकित्सक रहेको अन्य अस्पतालमा सार्ने निधो गर्यौं ।
सिन्धुलीका समाजसेवी उज्ज्वल थापालाई अन्य कुनै अस्पतालमा आइसियुको ब्यवस्था गर्न सकिन्छ कि भनेर सम्पर्क गरेँ । उहाँ सिन्धुलीबाट आउने हरेक विरामीको उपचारमा सघाउन सधैं तम्तयार भएर बस्नुहुन्छ । मेरो आग्रह सन्नासाथ उहाँ तुरुन्तै अस्पताल आउनु भयो । उहाँले काठमाडों मेडिकल कलेजमा आइसियुमा बेडको ब्यवस्था मिलाउनु भयो ।
अर्को दिन महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पनि बेड मिल्ने भयो । सानिमाको घर नजिकै भएकाले हामीले शिक्षण अस्पतालमै सार्ने निधो गरेउँ ।
मेडिसिटीका चिकित्सकले त्यहाँसम्म लैजान सहयोग गरे । माइजूलाई एक दिन इमर्जेन्सीमा राखेर आइसियुमा सारियो । त्यहाँ चिकित्सकले निकै प्रयास गरे । अन्ततः माइजुले साँझ हामीलाई छाडेर देहत्याग गर्नुभयो ।
माइजूको ब्रेन ह्यामरेजको पीडा हामीले यही साता नजिकका तीन जनामा देख्यौं । मेरै नजिकको मामाको छोरा २३ बर्षिय पौडेलको मस्तिष्क रक्तश्राब भएपछि सल्यक्रिया गरेको नवौं दिनमा निधन भयो । पुत्रशोकको पीडामा रहनु भएका मामा केदार पौडेल आफैं छोराको काजक्रिया गर्न कोरामा बस्नु भयो । यस्तै पीडा सिन्धुलीको तीनपाटनका कोइराला परिवारलाई परेको थियो । त्यहाँका ३६ बर्षिय गोबिन्द कोइरालाको पनि मस्तिष्क रक्तश्राबकै कारण काठमाडौंमा उपचार गर्दा गर्दै निधन भयो ।
पछिल्लो समय मस्तिष्क रक्तश्राबको घटना निकै बढेको देखियो । पीडा भोग्नेलाई मात्र थाहा हुने रहेछ । हामीमाथी ठूलो बज्रपात परेको छ यतिखेर ।
माइजूको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेर भाइहरुलाई सिन्धुलीको कमलामाई–१० मा काजक्रियाका लागि लिएर गयौं । त्यहाँ ९९ बर्षका हजुरबा माइजू सकुशल फर्केर आउने आशमा बाटो हेरेर बस्नु भएको थियो । केही बर्षअघि हजुरआमा गुमाएर एक्लो जिवत विताइरहनु भएका हजुरबाबालाई तातोचिसो सोध्ने सहारा एकमात्र माइजू हुनुहुन्थ्यो । ‘मैले आज आमा गुमाएको छु,’ हजुरबुबाले डाँको छाड्दै भन्नुभयो, ‘अब म सराहाबिहीन भएँ ।’ सताब्दी पुरुष बन्न लाग्नु भएको हजुरबाबाको बुढ्यौलीले चिम्सा भइसकेका आँखामा आँशु देख्दा हाम्रो मन थामिने कुरै भएन । प्रकृतिको नियम सबैले स्वीकार्नै पर्छ । हामी मावलमा माइजूबिहीन भएर टोलाउँदैछौं ।