काठमाडौं ।सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले निर्मला पन्तसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन निर्देशन दिएका छन् ।
सरकारी सञ्चारमाध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिमा निर्मला पन्त बलात्कारपछि हत्याका सामग्रीलाई स्थान नदिन निर्देशन दिएको बताइएको छ ।
निर्मला प्रकरणसम्बन्धी समाचारले सरकारको लोकप्रियतामा ह्रास आएको भन्दै त्यससम्बन्धी समाचार, आलोचनात्मक लेख केही नदिन उनले निर्देशन दिएको रेडियो नेपालका एक पत्रकारले जानकारी दिए ।
मन्त्री बास्कोटाले निजी सञ्चारमाध्यमले निर्मला पन्त प्रकरणलाई प्रमुख स्थान दिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
सरकारी सञ्चारमाध्यमले निर्मला पन्तसम्बन्धी सामग्री नदिँदा सरकारलाई रचनात्मक सहयोग पुग्ने उनको अपेक्षा थियो । मन्त्री बास्कोटाको सो निर्देशनलगत्तै चारवटा सरकारी सञ्चारमाध्यममा निर्मला पन्त प्रकरणका सामग्री ‘ब्ल्याक आउट’ भएको छ ।
दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी आलोचित र विवादमा पार्ने मुख्य प्रकरण निर्मला पन्तको हत्या घटना भएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको सोमबार चार महिना पुगेको छ ।
तर, अहिलेसम्म उनको बलात्कार र हत्यामा संलग्नको पहिचान गर्न प्रहरीले सकेको छैन । प्रहरीको उच्च अधिकृतको नेतृत्व अहिले पनि निर्मला पन्त हत्याका दोषी खोजीकार्य भइरहेको छ । तर, सबै प्रमाण नष्ट पारिसकेकाले प्रहरीको प्रयास निरर्थक बन्दै गएको छ ।