काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय सभापति शेर बहादुर देउवाको राजीनामा माग गरेका छन् । नुवाकोटको ककनीमा भएको भेलामा सभापति देउवाको राजीनामाको माग गरेका हुन् ।
भेला सहभागी मध्ये अधिकांशले सभापति देउवाले पार्टीलाई प्रभावकारी ढंगले अघि नबढाएको र पार्टीभित्र गुटबन्दी सिर्जना गरेको भन्दै राजीनामा माग गरेका हुन् । नाम नभन्ने सर्तमा आजभोलिसँग कुरा गर्दै एक जना जिल्ला सभापतिले भने, पार्टीलाई साँघुरो घेराबाट संचालन गरेको र पार्टीभित्र प्रभावकारी समन्वय नगरेकोले पार्टीको यो हैसियत भयो । पार्टी न सरकारमा छ, न सडकमा छ ।
भेलामा पार्टीको विधानका बारेमा पनि गम्भिर छलपल भएको छ । उनीहरुले पार्टीलाई आधुनिक प्रणालीबाट संचालन गर्न नयाँ व्यवस्थापन गर्नु पर्ने जनाए ।
भेलामा प्रस्तावित विधान संशोधनमा पार्टी सभापति देउवाले एकलौटी रुपमा अघि बढाएको गम्भिर आलोचना गरेका थिए ।
उनीहरुले वर्तमान सरकार अधिनायकवादतिर उन्मुख भएको भन्दै कडा आलोचना गरेका छन् । सरकारले जनताका आवश्यकता भन्दा पनि तडकभडक बढी गरेको र राज्यको ढुकुटीको दुरुपयोग गरेको आरोप समेत लगाएका छन् ।