काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता गरेको अभियोगमा कालिका कन्ट्रक्सन जेभीका प्रमुख विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले पूर्वमन्त्री समेत रहनुभएका कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डेविरुद्ध २ अर्ब १३ करोड ७६ लाख रुपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।
यसैगरी, सिक्टा सिँचाई आयोजनाका तत्कालीन आयोजना प्रमुख सरोज पण्डितविरुद्ध ५९ करोड ३४ लाख, दिलीपबहादुर कार्कीविरुद्ध एक अर्ब ५६ करोड ८२ लाख, रमेश बस्नेतविरुद्ध दुई अर्ब १३ करोड ७६ लाख, सिनियर डिभिज्नल इन्जिनियर सुइदेव थापाविरुद्ध २७ करोड २२ लाख, योगेन्द्र मिश्रविरुद्ध २७ करोड २२ लाख र श्यामबहादुर कार्कीविरुद्ध ५२ करोड ३६ लाख रुपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
यस्तै, सिनियर डिभिज्नल इन्जिनियरहरु सुशीलचन्द्र देवकोटाविरुद्ध ५८ करोड ५९ लाख, कृष्णप्रसाद सुवेदी विरुद्ध १७ करोड आठ लाख, प्रेमराज घिमिरेविरुद्ध १० करोड ४० लाख, प्रकाशबहादुर कार्की विरुद्ध नौ करोड एक लाख र वीरसिंह धामी विरुद्ध ११ करोड ८५ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ ।
यसैगरी, सिँचाइ विभागका वरिष्ठ इञ्जिनीयर कमलप्रसाद रेग्मी, सिनियर डिभिज्नल इन्जिनियर रविनाथबाबु श्रेष्ठ, र सिनियर डिभिज्नल इन्जिनियर आषिशभद्र खनालविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।