काठमाडौँ । निर्मला पन्तको बलात्कार एवम् हत्यामा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएका कञ्चनपुरस्थित भगतपुरका प्रदिप रावल र दिनेश चौधरी निर्मलाको हत्या भएको दिन प्रहरी हिरासतमा रहेका खुलेको छ ।
प्रहरी महानिरिक्षक आफैले लिएको बयानमा यि दुई युवाले निर्माला पन्तको हत्या गरेका साविति बयान दिएको भन्दै समाचार आइरहेका अवस्थामा ति युवा बालिका निर्मला पन्तको हत्या भएको दिन साउन १० गते कुखुरा चोरेको आरोपमा प्रहरी हिरासतमा रहेको खुलासा भएको छ ।
यस खुलासासँगै बलात्कार र हत्यामा संलग्न भएको भनि प्रहरीले पुन निर्दोसालाई फसाउन खोजेको आरोप स्थानीयवासीले लगाएका छन् । निर्मलाको हत्या भएको दिन रावल र चौधरी प्रहरी हिरासतामा रहनु र उनीहरूले हत्या गरेको भनी साविति बयान दिए भनी प्रहरीबाट समाचार आउनुले प्रहरी प्रतिको जनविश्वास झन घटेको छ ।
परिवारका अनुसार साउन १० गते १० बजेतिर नै प्रदिपलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । कुखुरा चोरेको अभियोगमा प्रहरीले प्रदिपललाई नियन्त्रणमा लिएको प्रदिपको परिवारले बताएको छ । प्रहरी अनुसन्धानअनुसार साउन १० गते ३ बजेतिर निर्मलाको हत्या भएको हो । पोष्टमार्टम रिपोर्टले पनि त्यहीं बताउँछ । यसबारे प्रदिपका परिवारले प्रहरीमाथि नै शंका गरिरहेका छन् ।
निर्मलाको बलात्कार भएको १० साउन बिहान करिब १० बजेपछि प्रदीपलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा लिएको र सोही दिन विशाललाई पनि प्रहरीले दिउँसो १ बजे उनकै घरबाट नियन्त्रणमा लिएको थियो । दुवैमाथि कुखुरा चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थिए । दुवैजना कुलतमा लागेको र प्रहरीले प्रलोभन देखाएर घटनाको वास्तविक अपराधीलाई उन्मुक्ति दिन खोजेको उनीहरूको आफन्तको आरोप छ ।
यस अघि मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंह विष्टलाई जबरजस्त अपराधी करार गर्न खोजेपछि घटेको विश्वासका कारण प्रहरीले निर्मलाका छिमेकी युवाद्वयः प्रदिप रावल र विशाल चौधरीले अपराध स्वीकारेको दाबी गर्दा पनि नागरिकले पत्याउन सकेका छैनन् । यद्यपि, प्रहरीले आधिकारिक रुपमा प्रदिप र विशाललाई अपराधी भनेर सार्वजनिक गरेको छैन । उनीहरुको डिएनए परीक्षण भइरहेको छ ।
प्रहरीले निर्मलाका छिमेकी युवाद्वयः प्रदिप रावल र विशाल चौधरीले अपराध स्वीकारेको दाबी गरीरहँदा ‘प्रहरी हिरासतमा रहेको व्यक्तिले कसरी निर्मलाको बलात्कार र हत्या गर्यो ?’ अहिले स्थानीयवासी भनिरहेका छन् ।