योगिश कृष्ण
हिजो राती भेट भयो । कहिल्यै नदेखेको । नभेटेको । अनुहार छोपिएको । आवाज डराएजस्तो । परिचय दिए“ म चरित्र हुँ । ”
चरित्रसँग मेरो नाता शैक्षिक संस्थाको प्रमाणपत्र लिँदा मात्र भएको थियो । यद्यपि चारित्रिक प्रमाणपत्रमा हस्ताक्षर गनेैको चरित्र प्रति मलाई कुनै सम्मान लाग्र्दैन थियो । प्रमाणपत्रको कागज घटिया खालको , कमिशनका कारण ।
यता साक्षात् चरित्रसँग मेरो भेट भएको थियो । सोधेँ, तपाइँ कस्को चरित्र हो । लुकेर हिँडेजस्तो देखिनु हुन्छ । ”
“म सबैको चरित्र हुँ । र , म खतरामा छु ।”
“किन ?”
“यति पनि थाहा छैन । यो मुलुकमा बच्चीहरुपछि सबैभन्दा बढी हत्या चरित्रको हुने गरेको छ ।”
उनको कुरा ठिकै थियो । हिजो भर्खर एक जना पूर्व पर्यटन मन्त्रीले वक्तव्य प्रकाशन गरेर उनको चरित्र हत्या भएको खुलासा गरे ।
बहालवालाको त हुने नै भयो । केही महिनाअघि एक जना पूर्व गृहमन्त्रीले एक जना पूर्व प्रहरी अधिकृतको संस्मरणमा आफ्नो चरित्र हत्या भएको कुरा पत्रपत्रिका मार्फत सार्वजनिक गरेका थिए । नेपालका एक नम्बर भ्रष्टाचारीको घोषित गर्दै उनको पुतला दहन भएको थियो । त्यतिबेला पनि उनले चरित्र हत्या भएको दुखेसो गरेका थिए । उनको चरित्रको चरित्र बडो विचित्र लाग्छ ।जो पनि उनको चरित्र हत्या गर्न उद्यत रहन्छन्।
यहासम्म कि पोहर सुन तस्करीको राष्ट्रिय प्रसंग चल्दा कारागारमा रहेका तस्करले पनि उनको चरित्र हत्या गरिदिए । मानौँ, उनको चरित्र चरित्र होइन , दन्त्यकथाको त्यस्तो राक्षस हो जो मारिए पनि पुनः जीवित हुन्छ ।”
मलाई चरित्रको माया लाग्यो “ तपाइँ चिन्ता नगर्नूस् । भलै तपाइँको हत्या भइरहेको होस् । तपाइँमा पुर्नजीवन पाइराख्ने क्षमता त छ नि ।”
उनको चित्त बुझेन “ यसरी दिनदिनै चरित्र हत्या हुन थाल्यो भने यो देशको भविष्य के हुन्छ ।”
जब कसैले देशको चिन्ताको कुरा गर्छ मलाई डर लाग्छ –यो राजनीतिक हो । अव यसले आफ्नो दुनो सोझ्याउने कृयाकलापको उठान गर्छ ।
मैले उनलाई सम्झाएँ “ ज जसको चरित्र हत्या भएको छ , ती सब सत्तामा रहेका वा नजिक रहेका वा उच्च पद प्राप्त गरेका व्यक्ति हुन् । कुनै नया एैन तर्जुमा गर्न लगाउनूस् – चरित्र संरक्षण एैन ।”
उनको आँखा चम्कियो । हेरौँ , सदनले यो एैन कहिले पारित गर्छ ।