काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकाे भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन व्यवसायीहरु शैलेन्द्र गुप्ता, खगेन्द्र चापागाईं र दीपक अधिकारीले संयुक्तरुपमा आज रिट दायर गरेका हुन् ।
उनीहरुले संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै धारा ७६ (३) अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन् । यसअघि राष्ट्रपति पाैडेलले संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए । उनकाे आज शपथ ग्रहण हुँदैछ ।
प्रधानमन्त्रीको नियुक्ति संविधान अनुसार नभएकाे भन्दै साे नियुक्ति तथा शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएकाे हाे ।