काठमाडौं। कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नो सरकारलाई मितव्ययी सरकार भएको दाबी गर्छन् । तर उनको दाबी र काम गराइको तौर तरिका ठिक उल्टो छ ।
ओली माघमा स्विट्जरल्याण्ड हुने वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सहभागी हुन जम्बो टोलीको नेतृत्व गर्दै जाने भएका छन् । उनी माघ ६ गते स्विट्जरल्याण्डका लागि उड्ने छन् ।
वर्ल्ड इकोनोमिक फोरमको बैठक माघ ८ देखि माघ ११ सम्म स्विट्जरल्याण्डको डावोसमा हुनेछ ।
एउटा बैंठकका लागि उनले आफ्नोसाथ १९ जनाको जम्बो टोली नै लाने भएका छन् । उनको टोलीमापरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायतका छन् ।
ओलीले बैंठकमा स्ट्राटेजिक आउटलुक अन साउथ एसिया सत्रको छलफलमा सहभागी हुनेछन् । कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीले बिओन्ड दी जीडीपी सेसनमा समेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैंठकमा विश्वका धेरैजसो मुलुकका राष्ट्रप्रमुख या सरकारप्रमुख सहभागी हुनेछन् ।
भ्रमणका क्रममा ओलीले विभिन्न दातृ मुलुकका सरकार प्रमुखसित या विदेशमन्त्रीसित साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।
ओलीले स्विट्जरल्यान्डका राष्ट्रपति वेली माउरासित समेत भेटवार्ताको तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।
ओली स्विट्जरल्यान्ड भ्रमण सकेर फ्रान्स जाने कार्यक्रमसमेत तय भएको छ । त्यसको पनि तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।
नेपाल र फ्रान्सले यसै वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन् ।
फ्रान्सका युरोप मामिला तथा विदेश मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा गत पुस २५ मा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो ।