माधवप्रसाद घिमिरे, ललितपुर । तीन वर्ष अघि गएको भूकम्पले क्षति भएको ललितपुरस्थित पाटन माध्यामिक विद्यालयको पुनः निर्माण गरिने भएको छ । जापान सरकारको सहयोगमा पुनः निर्माण हुन लागेको हो ।
उक्त विद्यालयको सिलान्यास बुधवार ललितपुर महनगरपालिकाका मेयर चिरीबाबु महर्जन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले संयुक्त रुपमा सिलान्यास गरी विद्यालय भवनको निर्माणको सुभारम्भ गरेका हुन्। वि.सं. १९९९ सालमा स्थापित यस विद्यालय नेपालको दरवार हाइस्कुलपछिको दोस्रो विद्यालय हो ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले उक्त विद्यालयको भवन पुनः निर्माणको लागि पहल गरेको हो। सिलान्यास कार्यक्रममा प्र्राधिकरण कार्यकारी प्रमुख सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्याएका विद्यालयहरु मध्ये हालसम्म ४ हजारको पुनः निर्माण सम्पन्न भैसकेको जानकारी गराए। उनले भने, ‘देशकै दोस्रो पुरानो यो विद्यालयको पुनः निर्माणको काम खाल्न पाउँदा अत्यन्तै खुसी छु। सिलान्यासमा हैन, मलाई त भवन उद्घाटनको कार्यक्रममा जान मन लाग्छ।’ उनले भवन उद्घाटनको कार्यक्रममा जाँदा सन्तुष्टि मिल्ने बताए। उक्त भूकम्पमा ७ हजार ५ सय तिपन्न विद्यालय क्षति भएको थियो। ज्ञवालीले केही विद्यालयहरुको पुनः निर्माणको गतिमा ढिलाई उत्पन्न भएको स्वीकार गर्दै त्यसको निर्माणमा तिव्रता दिने आश्वासन दिए। उनले गुणस्तरीय शिक्षा समेत स्थानीय सरकारको जिम्मेवारी भएको वताउँदै अव महानगरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न खाल्नु पर्ने वताए ।
विद्यालयका लागि पूर्वाधार जतिकै महत्वपूर्ण शैक्षिक गुणस्तर भएको वताउँदै उनले अव यो विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न समेत लाग्नु पर्ने स्पष्ट पारे।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले विद्यालय निर्माणमा गुणस्तरीयता कायम गर्न कन्सट्रक्सन कम्पनीलाई अनुरोध गरे। उनले भने, ‘ललितपुर महानगरभित्र निर्माण हुने कुनै पनि भवनको गुणस्तरमा सम्झौता हुँदैन। यसले महानगरको पहिचान स्थापित गर्नका साथै सुरक्षित समेत बनाउँछ।’ उनले अस्पताल, विद्यालय जस्ता महत्वपूर्ण सार्वजनिक स्थानहरुको निर्माणमा त अझै सावधानी अपनाउनु पर्ने स्पष्ट पारे। मेयर महर्जनले महानगरभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न महानगरले आफ्ना शैक्षिक सल्लाहकारहरुको सुझाव र सल्लाहअनुसार काम गरिरहेको वताए।
विद्यालयका प्रधानाध्यापक इश्वरमान बज्रचार्यले भूकम्पका वेला विद्यालय क्षतिग्रस्त भएपछि विद्यार्थीलाई अस्थायी टहराहरुमा राखेर अध्यापन गराएको वताए। उनका अनुसार यो विद्यालयमा रातो स्टिकर लगाइएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण महर्जनले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका लागि महानगरको सहयोग महत्वपूर्ण भएको वताउँदै इतिहास बोकेको यस विद्यालयको विकासमा सहयोग गर्न अनुरोध गरे । अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने वताए।
उक्त विद्यालयको भवन निर्माणका लागि करिव १८ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तीन वटा व्लकमा बन्ने उक्त भवनमा २७ वटा कोठाहरु रहने वताइएको छ । यो भवन २१ महिनाभित्रै निर्माण सम्पन्न हुने विद्यालयले जनाएको छ । यो विद्यालयको भवन निर्माणको जिम्मा लामा एण्ड खुस्बुु जेभी कम्पनीले पाएको छ ।