काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई निलम्बन गरेका छन् ।
प्रधानन्यायाधीश राणाको निर्देशनमा आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा न्यायपरिषदले छानबिन समिति गठन गरेलगत्तै उनीहरु निलम्बनमा परेका हुन् ।
प्रधानन्यायाधीश राणाले शपथ गरेको भोलिपल्ट परिषद्को निगरानी संयन्त्रले पहिलो अनुगमन ललितपुर जिल्ला अदालतमा गरेको थियो ।
अनुगमनका क्रममा भीएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले गडबडी गरेको पाइएको थियो ।
लगत्तै राणाकै सक्रियतामा जिल्ला न्यायाधीश आत्रेयमाथि शुक्ष्म ढंगले अनुसन्धान भइरहेको थियो ।
न्यायालयका बेथिति केलाउने क्रममा संयन्त्रको टोली तराइका विभिन्न अदालत पुगेको थियो । विराटनगर उच्च अदालतमा विकराल अवस्था देखिएपछि तत्काल पाँच न्यायाधीश नागेन्द्र लाभ कर्ण, उमेशकुमार सिंह, उमेशराज पौडेल, थिरबहादुर कार्की र सारंगा सुवेदीलाई पनि परिषदमा तानिएको छ । मुख्यतः उनीहरु ३८ क्विन्टल सुन प्रकरणमा उनीहरु तानिएका हुन् ।
यस्तै न्यायीक बिचलन देखिएको भन्दै तनहुँका जिल्ला न्यायाधीश उपाध्यायलाई न्याय परिषदमा झिकाइएको थियो ।
उपाध्यायलाई विगतमा पनि परिषदमा झिकाएर सचेत गराइएको थियो। तर उनले आफ्नो आचारण सुधार नगरेको र पटकपटक परिषदमा गम्भीर उजुरी परेपछि उनी कारवाहीमा परेका हुन् ।