शान्तिराम श्रेष्ठ
भेनेजुएलाको राजनितिक संकटको सन्दर्भमा कम+रेट प्रचण्डले अमेरिकालाई चुनौती दिएछन् – गज्जब !!! यसले देशमा एक किसिमको तरंग पैदा गरेको छ । उनको प्रतिक्रियालाई उनको हनुमानहरूले साहसिक भन्दै अमेरिकी साम्राज्यवाद विरुद्धको संखघोष माने । उनको विरोधिहरूले दुस्साहसिक भने ! आखिर कुरोको चुरो के हो त ? म एउटा उदाहरण प्रस्तुत गर्छु त्यसपछि यी धुर्त मनुवालाई ठम्याएर कुरो बुझ्नु र घर तिर कुद्नु ।
एकताका देशमा जनयुद्ध हो कि धनयुद्ध हो को आँधिबेहरी चल्दै थियो । लासहरू विस्कुन सुकाए झैं सुकाइन्थे ।मन्छेको जीवन र लासको मूल्य कुकुर वा किरा फटयाँङग्रा बराबर पनि थिएन । यो सब भएको थियो भारत बिरुद्ध सुरुङ्ग युद्ध को आधारशिला तयारी गर्ने नाममा ।
जति बेला नेपालमा भारत बिरुद्ध सुरुङ्ग युद्धको क्रममा रगतको खोला बग्दै थियो । युद्धका सुप्रीमो प्रचन्ड चाहिं दिल्लीको पाँचतारे होटलमा भारतीय सेनाको सुरक्षा घेरा भित्र मृगको सपेटा चपाएर बस्थे । उनको सम्पूर्ण खर्चको व्यवस्था भारत सरकारले गर्थ्यो।
उनी २४ सैं घन्टा भारतीय गुप्तचर संस्था र बाट घेरिएका हुन्थे। यि सबै व्यवस्थाको चाँजोपाँजो गर्ने व्यक्ति थिए कथित भारतीय राजनीतिक विश्लेषक तथा नेपाल मामिला जानकार एस.डि मुनि । उनले यो सब तथ्यको पर्दा उघारेका छन्।
त्यो बेला प्रचन्डसँग सबैभन्दा बढी घुलमिल हुने व्यक्ती थिए तत्कालीन भारतीय रक्षामन्त्री जर्ज फर्नान्डिज। प्रचन्डलाई संवेदनशील क्षेत्रमा विशेष मानिसहरूसँग भेट गराउने, सवारी साधन र सुरक्षाको इन्तजामलगातका काम जर्ज फर्नान्डिजले नै गर्थे।
मलाई केहि घटना र प्रसंग हिजो जस्तो लाग्छ । जब चक्रप्रसाद बाँस्तोला दिल्ली रवानाको क्रममा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा जहाजको प्रतिक्षामा थिए । उनलाई एक पत्रकारले सोधेका थिए । “तपाईं माओवादी अध्यक्ष प्रचन्डलाई भेटन दिल्ली जाँदै हुनुहुन्छ भन्ने चर्चा छ नि ?” बाँस्तोलाले यो आशंकालाई ठाडै नकार्दै आफू स्वास्थ्य परिक्षणको लागि दिल्ली जान लागेको बताएका थिए । बाँस्तोला दिल्ली रवाना भएको केहिदिन पछि गिरिजाप्रसाद कोइराला स्वास्थ्य परिक्षणको लागि भन्दै दिल्ली रवाना भए । त्यस समय गिरिजा प्रचन्डलाई भेट्न दिल्ली गएको चर्चा राजनितिक वृत्तमा फैलिएको थियो । यद्यपि बाँस्तोला र गिरिजा दुबैले यो प्रसंगलाई ठाडै नकारेका थिए ।
धेरै वर्षपछि चक्र बाँस्तोलाले यो प्रसंगलाई स्विकारेका थिए । प्रचन्डलाई गिरिजासँग भेट गराउन एस डि मुनि र तत्कालीन भारतीय परराष्ट्रमन्त्री प्रणव मुखर्जीको विशेष भूमिका थियो । भारतीय शाषकहरूको रेखदेखमा प्रचन्ड-गिरिजा भेटको समयमै लमजुङ्गको विचौर प्रहरी चौकीमाथि हमला गरि तीन दर्जन प्रहरी मारिएको थियो । यो पनि शायद भारत विरुद्ध सुरुङ्ग युद्ध को अग्रगामी कदम थियो ।
भारतीय शाषकहरूसँग रातदिन उठबस गरी भारतीय सरकारको खर्चपानीमा भारतीय सेनाको सुरक्षा घेरा भित्र बसेर भारत बिरुद्ध नै सुरुङ्ग युद्ध गर्न भ्याउने प्रचन्डको भनाईलाई पत्याउने मनुवाहरु :
१. या त नोवेल पुरस्कार पाउन लायकको पटमूर्ख हुन् ।
२. या त उनको आचिलाई पनि हलुवा मान्नेहरु हुन् ।
३. या त आफुलाई राजनितिक बुझक्कड ठान्ने तर राजनिती फिटिक्क नबुझ्नेहरु हुन् ।
४. या त उनको वरिपरि झुम्मिएर फाइदाको लागि मरिहत्ते गर्ने चरम लोभी-स्वार्थिहरू हुन्।
यहाँ प्रस्तुत विचार लेखका नीजी विचार हुन् ।