विश्लेषण, आजभोलि डेस्क । दुई साताअघि तराई झरेका नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह बुधबारदेखि झापामा छन् । उनी सिमराबाट आफैले गाडी चलाएर झापा पुगेका थिए । झापामा उनले गोप्यभेटघाट जारी राखेका छन् ।
मध्यतराईमा बसुन्जेल उनले धार्मिक मठमन्दिरको दर्शन तथा गोप्य भेटघाटमा गरेको उनी निकट श्रोतले जनाएको छ । मध्यतराइ बसुन्जेल खास गरी त्यस क्षेत्र राजनीतिक नेता तथा कार्यकर्ता, ठूला जमिनदार तथा विशष्टि व्यक्तिलाई भेटेको जनाइएको छ । तर भेटघाट गरिएका व्यक्तिको नाम भने गोप्य राखिएको छ ।
बुधवारदेखि उनी झापामा छन् । झापा जादा बाटोमा शुभचिन्तक तथा समर्थकलाई नभेटेकोमा आलोचना भोगेका शाह भेटघाटका लागि समय मिलाइ रहेको जनाएका श्रोतले बतायो ।
उनी ३ हप्तासम्म झापामा रहेको हिमालयन महालक्ष्मी चिया बगानमा बस्नेछन् । यो उनको आफ्नै लगानी रहेको बगान हो । बगान भित्रै बस्ने दरबार पनि रहेकाले उनी त्यही बस्नेछन् । निकै कडा सुरक्षाबीच उनीले आफ्ना गतिविधि चलाई रहेका छन् ।
काठमाडौंमा गोप्य रुपमा उच्चस्तरीय भेट सकेर तराई झरेका शाहको यो ५ हप्ता लामो भ्रमणलाई निकै चासोको रुपमा हेरिएको छ । पहाडभन्दा बढी तराईमा लोकप्रिय रहेका उनले आफ्ना समर्थक तथा शुभचिन्तकसँग भलाकुसारीसमेत गर्न भ्याएका थिए । निकै व्यस्तरहेका उनले फेरी राजा ल्याउनु पर्ने बाध्यता रहेको देखाउन मधेश झरेको धेरैले अनुमान गरिहेका छन् ।
वर्तमान भारतीय संस्थापन पक्ष राजतन्त्र र हिन्दूराज्यको बारेमा सकारात्मक रहेकाले पनि अन्तिम राजाको यो कसरतलाई राजनीतिक बृत्तमा निकै महत्वका साथ हेरिएको छ । केही महिना अघि उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि गोप्य भेट गरेका थिए । लगत्तै उनी नेपाली राजनीतिमा सक्रिय बनेका छन् ।
मधेश वा तराई राजतन्त्रका लागि उर्वर क्षेत्र हो । पहाडमा भन्दा तराई अझै राजतन्त्रको पक्षमा बढी जनमत रहेको देखिन्छ । जुन उनको स्वागत तथा अरु कार्यक्रमको उपस्थितिले पनि देखाएको छ । सयांै मान्छेहरु लामबद्ध तरिकाले शाहको दर्शनभेटको लागि घण्टौं पर्खेका थिए ।
सिमरबाट झापा जादा कम्तिमा पनि २० स्थानमा राजाको स्वागतका लागि हातमा फूलमाला लिएर सयौं स्थानीय लामबद्ध थिए । उनी राजालाई स्वागत गर्न लामो समय पर्खेका थिए ।
राजासंस्था पुर्नस्थापनका लागि उनको यो देश दर्शन हो भन्नेको संख्या पनि ठूलो नै छ । जनमत बुझ्न र आफूलाई जनमुखी साबित गर्न पनि उनी देश दौडाहमा रहेको दाबी गर्ने पनि कम छैनन् । उनले देश बरबादी भएकाले अब देश बचाउन राजसंस्था आवश्यक भएको महसुस गराउन पनि भेटघाटमा लागेको हुन सक्ने राजनीतिक विज्ञहरुले विश्लेषण गरिहेका छन् ।
भारतमा २०१९ निर्वाचन फेरी पनि भारतीय जनता पार्टीको सरकार बनेमा नेपालमा हिन्दू धर्म र राजसंस्थाको विषय फेरी जबरजस्ती उठ्ने छ । जसको लागि अहिलेदेखि नै ज्ञानेन्द्र शाह त्यसको लागि वातावरण तय गर्न पनि अग्रसर भएको देखिन्छ ।
एक श्रोतका अनुसार उनले काठमाडौं नेपाली कांग्रेसको उच्च नेतृत्व तहसँग भेटघाट समेत गरेको जनाइएकोछ । उनले आगामी दिनमा कसरी जान सकिन्छ भन्ने कुरालाई जोड दिएर उच्च भेटघाट गरेको श्रोतको दाबी छ ।
भारतीय गुप्तचर संस्था र का प्रतिनिधिसँग पनि शाहको नियमति भेटघाट भएको जनाइएको छ । साथै तराई भ्रमण रहँदा पनि उनको भारतीय उच्च तहसँग भेटवार्ता भएको समेत दाबी गरिएको छ ।
चीनसँगको पुरानो सम्बन्धलाई निरन्तरता दिइएको उनी निकट श्रोतले बतायो । राजसंस्थाको बारेमा भारत भन्दा पनि चीन अझ बढी गम्भिर रहेको जनाइएको छ । चीन राजसंस्था फर्काउने अभियानमा सहयोगी नै रहेको विश्लेषकहरुले जनाएका छन् ।
हिन्दू धर्मका गुरु तथा अभियान्ताहरुले राजालाई सहयोग गर्दै आइरहेका छन् । उनीहरुले हिन्दू धर्मको आँडमा राजतन्त्र फर्काउने दाउँ खोजीरहेको देखिन्छ । नेपाली राजनीतिक पार्टी तथा वर्तमान सरकारप्रति जनतामा वितृष्णा जागेको बेला राजतन्त्र नै विकल्प भएको देखाउने प्रयासमा लागि परेका छन् ।
नेपालका उच्चतहका विद्धान तथा बुद्धीजीविहरु पनि राजतन्त्रको बारेमा नरम हुँदै आइरहेका छन् । उनी सरकार तथा संघियताको बारेमा नकरात्मक टिप्पणी गर्न थालेका छन् । नेपाली सुहाउँदा व्यवस्था नभएको भन्दै उनीहरुले राजसंस्थाको बचाउँ समेत गर्न थालेका छन् । जुन निकै गम्भिर विषय हो ।
सरकारको गतिविधि, स्थानीय कर, महंगी, भ्रष्टाचार तथा गरिबीको कारण राजनीतिक पार्टी तथा व्यवस्थाप्रति जनआक्रोस बढ्दो छ । उनीहरु सरकारप्रति विश्वस्त हुन सकेका छन् । यस्तो तरल राजनीतिक अवस्थामा अन्तिम राजा ज्ञानेन्द्रको सक्रियताले राजनीति धमिलो बनाउनमा मद्दत पुग्ने छ । उनका लागि उचित वातावरण सिर्जना हुनेछ ।