काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापतिबाट नैनसिंह महरले राजीनामा दिएका छन् । उनले पार्टी सभापति शेर बहादुर देउवालाई पार्टी मुख्यालय सानेपामा राजीनामा पेस गरेका हुन् । तर पार्टी स्वीकार गरेको नगरेको बारेमा अन्यौल छ ।
उनी ११ औं महाधिवेशनबाट नेविसंघको सभापति चयन भएका थिए । आफ्नो कार्य पूरा भएपछि पार्टीले उनको कार्यसमितिको म्याद ५ महिना थपेको थियो । तर पनि १२ औं महाधिवेशन गर्न सकेनन् । हुँदाहुँदा जिल्लाको अधिवेशनसमेत गर्न सकेन ।
उनको कमिटिका लगभग ४ दर्जन नेविसंघ पदाधिकारी तथा सदस्यले राजनीनामा दिएका थिए । समयमै नेविसंघ १२ औं महाधिवेशन गर्न नसकेको भन्दै राजनीनामा दिएका हुन् । त्यसपछि उनी दबाब झेल्दै आइरहेका थिए ।
पार्टी सभापति शेर बहादुर देउवाले बारम्बार बोलाएर १२ औं महाधिवेशन गर्न भनेपछि नसक्दा उनले राजीनामा दिएको बताइएको छ । पार्टी सभापतिलाई महाधिवेशन हुने आधार पेश गर्न नसकेपछि राजीनामा दिन लगाएको बताइएको छ ।
महरलाई सभापति देउवाले राजनीनामा नदिए आफूले बर्खास्त गर्ने चेतावनी दिएपछि महर बल्ल राजीनामा दिन तयार भएको श्रोतले जनायो । आफ्नै टिमबाट एक्लिएपछि बाध्य भएर राजीनामा दिएका थिए ।
गएको स्थानीय, प्रदेश तथा संघको निर्वाचनमा नेविसंघ परिचालन गर्न नसकेको पार्टीको बुझाइ रहेको थियो । आन्दोलनमा नेविसंघको सहभागिता न्यून रहेको भन्दै आलोचना समेत भएको थियो ।
उनी निकट पुष्पकुमार शाही लगायतकाले राजीनामा दिएपछि उनलाई समस्या थपिएको विश्लेषण गरिएको छ । पछिल्लो समयमा बुढानिलकण्ठसँग पनि सम्बन्ध चिसिएको जनाइएको छ । सँगै, डा. रामशरण महत तथा एनपी साउदसँग पनि सम्बन्ध बिग्रेकाले राजीनामा दिन बाध्य भएको एक उच्च श्रोतले जनायो ।
महरको पक्षमा बोल्न तथा लबी गरिदिने कोही नभएपछि निरही भएर राजीनामा दिएर चोखो भएको आरोप समेत लागेको छ । समग्रमा डडेल्धुराको निर्वाचन, नेविसंघको विवाद, आफ्रनै नजिकको राजीनामा तथा पार्टी सभापतिको अविश्वास मुख्य राजीनामाका कारण हुन् ।