डेढ सय वर्षअघि कार्ल माक्र्सले धर्मलाई अफिम भन्दिएछन् । परिणाम स्वरुप अहिले पनि धेरै कम्युनिष्टहरुले शैद्धान्तिक रुपमा धर्मलाई त्यसरी नै परिभाषा गर्छन् । कार्लमाक्र्सका जन्मदेश जर्मनीमा ७० प्रतिशतले भगवानमा विश्वास गर्दछन् र यो संख्या बढ्दो छ । लेलिनको देश रुसमा ८७ प्रतिशतले कुनै न कुनै धर्म मान्छन् । माओत्सेतुङको देश चीनमा क्रिश्चियन, हिन्दु, बौद्ध वा इस्लामधर्मीहरुको संख्या सानो भए पनि बहुसंख्यक चिनियाहरु धर्ममा विश्वास राख्छन् र ७३.५६ प्रतिशतले स्थानीय विभिन्न धार्मिक परम्परा मान्छन् ।
नेपालका कम्युनिष्ट नेता÷कार्यकर्ताहरुमा उमेर अनुसार धर्मको भावना र विश्वास बढेको देख्न सकिन्छ । जवानी उमेरमा धर्मको विरोध गरेर हिँडेकाले उनीहरुलाई धर्मकर्ममा सोझै लाग्दा “लोकले के भन्ला?” भन्ने चिन्ता चाहीँ हुँदो हो ।
नेपालका नेल्सन मन्डेला भनेर चिनिने मोहनचन्द्र अधिकारी पञ्चायतकालमा १७ बर्ष जेल परे । कम्युनिष्ट राजनीतिमा झण्डै चार दशक समर्पण गरे । राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाउँदा उनी राजावादी भइसकेका थिए भने पारस साहलाई युवराज घोषणा गरेपछि काठमाडौंको खुलामञ्चमा पारसको दीर्घायुका लागि चौमासा भागवत पुराण लगाए ।
छोराको दागबत्ति दिएलगत्तै राजनीतिक भाषण गर्दै हिंडेका प्रचण्ड धार्मिक यज्ञ अनुष्ठानहरुको उद्घाटन गर्न, सन्तमहन्तहरुसँग नारिएर फोटो खिच्न, आफ्ना ग्रहदशा सपार्न भैसीपूजा गर्न पछि पर्दैनन् ।
परम्पराअनुसार आमाको अन्तिम संस्कार नगरेर चर्चा कमाएका माधव नेपाल धर्मदर्शनका कुरा गर्न, रुद्राक्षको माला लगाउन वा देखावटी नै सही राजनीतिक अभियानमा मन्दिरको दर्शनपर्शन गर्न माहिर छन् । अझ भित्रभित्रै २५ वर्षदेखि मुन परमेश्वरीको होलीवाइनमा मस्त रहेछन् भन्ने कुरा त भर्खरै एकनाथले पूरै दुइतिहाइ सत्तालाई गाल पारेपछि मात्रै थाहा पाइयो ।
धर्मकर्ममा प्रचण्डको आस्था छ पनि छैन पनि । उनी मौका अनुसार गर्छन् । आफ्ना पिताको मृत्युभएपछि क्रियाकर्म नगरेका र छोराको दागबत्ति दिएलगत्तै राजनीतिक भाषण गर्दै हिंडेका प्रचण्ड धार्मिक यज्ञ अनुष्ठानहरुको उद्घाटन गर्न, सन्तमहन्तहरुसँग नारिएर फोटो खिच्न, आफ्ना ग्रहदशा सपार्न भैसीपूजा गर्न पछि पर्दैनन् । दशैंमा टीका नलगाएको भनेर आलोचित भएपछि दुनियाँलाई देखाउनकै लागि भए पनि उनले पछिल्ला दशैंमा टीका लगाउने र फोटोहरु सार्वजनिक गर्न थालेका छन् ।
कम्युनिष्ट दर्शनका अर्का मिथक पात्र थिए, बाबुराम भट्टराई । आफू प्रधानमन्त्री भएका बखत उनले दौरासुरुवाललाई नेपालको राष्ट्रिय पोसाकको सूचीबाट हटाए । प्रधानमन्त्री भइसकेपछि उनले नेकपा माओवादी छाडे । गत निर्वाचनमा कांग्रेससँग चुनावी समीकरण गरेर गोरखामा चुनाव जिते । अहिले दौरा सुरुवाल लगाएर कर्णाली प्रदेशको यात्रामा निस्केछन् । साउन महिनामा काँवरियाको पहेलो वस्त्र लगाएर बाग्मतीको जल गुहेश्वरीमा चढाउन हिंडेको पनि चाँडै देख्न पाइएला ।
एस डी मुनीले भारतीय टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, “नेपाल के कम्युनिष्ट वैसा कम्युनिष्ट नही । वो शुबह शुबह पशुपतिनाथ मे दर्शन करने जाते हैं ।”
उल्लिखित तथ्यांकहरुका आधारमा धर्म अफिम मात्रै होइन, अझ बढी हो । कम्युनिष्ट शासनको रजगज भएको समयमा पनि ती देशका मानिसहरुले धर्मकर्मलाई बचाएर राखे भने अब डराउनु पर्ने कारणै छैन । उमेरको बढोत्तरीसँगै कम्युनिजमको लत छुट्ला तर धर्मको नशा अझ बढ्ने रहेछ ।