काठमाडौं । ट्राफिक प्रहरीले लामो दूरीको सार्वजनिक यातायातमा २ जना सवारीचालक अनिवार्य गरेको छ । दुर्घंटना न्यूनिकरणका लागि यस्तो नियम लागू गएिको प्रहरीले जनाएको छ । उक्त नियम उल्लंघन गर्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे÷नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको जानकारी दिनुभयो ।
निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुङ्गामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश नं ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । कानून नमान्ने सवारी साधनलाई रु एक हजार जरिवाना गरेको महाशाखाले जनाएको छ ।
File Photo