काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीसँग भेट गरेको विवरण सार्वजनिक भएको छ । उनले मधेश भ्रमणका क्रममा गएको हप्ता जनकपुरको शीताशरण होटलमा भेट गरेको जनाइएको छ । दुबै जनाको भेटमा के कुरा भएको थियो त्यो भन्ने गोप्य नै रहेको छ ।
यसअघि पनि उनले तराईको भ्रमणमा जादा भारतीय गुप्तचर संस्था र का प्रतिनिधिसँग भेट गरेको समाचार आजभोलिले प्रकाशन गरेको थियो । गोप्य भेटको बारेमा तराई यात्रामा रहँदा उनले भारतीय प्रतिनिधिसँग भेट गरेको एक गोप्य श्रोतले जानकारी दिएको थियो ।
पूर्वराजा शाहले काठमाडौंमा रहँदा पनि लगातार भारतीय संस्थापन पक्षसँग नियमित भेटघाट जारी राखेको जनाइएको छ । श्रोतले दिएको जानकारी अनुसार भारतीय सरकार पक्षका नेता तथा सरकारी प्रतिनिधिसँग उनको गोप्य भेट नियमिति भइरहेको जानकारी दियो ।
विगत ६ महिनादेखि उनका गतिविधि बढी रहेको राजनीतिक विश्लेषकहरुले जनाएका छन् । तराई मधेश भ्रमण, धार्मिक भ्रमण तथा उनका पछिल्ला वक्तव्यले पनि उनको राजनीतिप्रतिको चासो बढेको देखिन्छ । उनले आफूलाई राजनीतिक बैकल्पिक शक्तिको रुपमा रहेको देखाउन पनि उनले यी सबै गरिहेको जनाइएको छ ।
नेपालमा चीनको लागनी तथा प्रभाव बढेपछि भारत झस्केको पाइन्छ । प्रधानमन्त्री केपी शर्मा ओली आएपछि भारत उप्रति विश्वस्त हुन नसकेको भारतीय मिडियाले जनाएका छन् । उनीहरुले नेपाल सरकार चीनप्रति बढी झुकाव राखेको आरोप लगाई रहेका छन् ।
नेपालका हरेक राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खैल्दै आएको भारत लोकतान्त्रिक गणतन्त्रप्रति खुशी देखिदैन् । संविधान जारीदेखि संघीयताको कार्यान्वयनसम्म आइपुग्दा उसले कुनै न कुनै रुपमा असन्तुष्टि पोख्दै आइरहेको पाइन्छ । यसकारण फेरी पनि भारत नेपालमा नयाँ बैकल्पिक शक्तिको खोजीमा त छैन भन्ने विषयमा आशंका उब्जिएको छ ।
भारतमा विजेपीले आगामी निर्वाचनमा पनि बहुमत ल्याएर सरकार बनेमा नेपालमा हिन्दू धर्म मार्फत राजतन्त्र फर्किन सक्ने अनुमान पनि गर्न थालिएको छ । यसले नेपालमा राजनीतिक अस्थिरता निम्तिने खतरा बढ्दै गएको विश्लेषकको दाबी रहेको छ ।
पूर्वराजाका पछिल्ला गतिविधिप्रति नेपाल सरकारले चासो दिन थालेको छ । साथै निगरानी पनि बढाएको छ ।