प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा संसदको गरिमा घटाउने अमर्यादित र गैरसंसदीय भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार अपरान्ह विज्ञप्ति जारी गर्दै कांग्रेसले प्रधानमन्त्री ओलीले संघीय संसदमा संसदको गरिमा घटाउने अमर्यादित र गैरसंसदीय भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो ।
सम्माननीय राष्ट्रपतिद्वारा सम्बोधन गरिएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल पश्चात प्रतिनिधिसभाका माननीय सदस्यहरुले सम्माननीय प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकको रोष्टमबाट संसदको गरिमा घटाउने, अमर्यादित र गैरसंसदीय भाषा बोलेकोप्रति नेपाली कांग्रेस संसदीय दलले गम्भीर आपत्ती प्रकट गरेको प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले सभामुख कृष्णबहादुर महराले गरिमामय ढंगले संसद सञ्चालन नगरेको र संसदको गरिमा घट्ने प्रकारका अमर्या्दित रेकर्डहरु संसदको रेकर्डबाट नहटाएको र संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह नगरेको भन्दै आपत्ति जनाएको हो ।
प्रमुख सचेतक खाँणद्वारा जारी विज्ञप्तिमा संसदको गरिमामा आँच आउने अभिलेख संसदको रेकर्डबाट तत्काल हटाउन र गरिमामय ढंगले संसद सञ्चालन गर्न सभामुख महरासँग माग गरेको छ ।