पछिल्लो समय महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा निकै सजग रहेको पाईन्छ तर महिलाहरुलाई मात्र नभएर राजनीतिमा लागेका युवाहरुका लागि पनि सुरक्षित गर्भपतन उत्तिकै महत्वपूर्ण रहेको युथ एक्सन नेपालका अध्यक्ष मदन पाखरेलले बताएका छन् ।
कुनै समय गर्भपतनलाई ठूलो मान्ने नेपाली समाज बिस्तारै परिवर्तन हुँदै गएको छ । कानुनले पनि केहि विशेष अवस्थामा गर्भपतन गराउन मिल्ने छुट दिएको छ । तर, अझै पनि नेपालका आधा भन्दा बढी महिलालाई सुरक्षित गर्भपतन गराउने स्थान बारे जानकारी नभएको पाईएको छ ।
यसैलाई मध्यनजर गरेर सुरक्षित गर्भपतनको मुद्दा स्थापित गर्न राइट हेयर राइट नाउ (आरएचआरएन)को पहल तथा युवा कार्य नेपालले विभिन्न समस्यामा पारेका नेपालीहरुको सहयोगमा कुनै कसुर नछाडि काम गर्दै आएको छ ।
आरएनआरएच प्लेटफर्मको गठन २०१७ मा भएको हो र यसले विभिन्न संघसंस्था सम्मिलित लुज प्लेटफर्मका रूपमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।
युवाका विशेष मुद्धामा केन्द्रीत भएर काम गर्ने भनिए पनि यस संस्थाले मानव अधिकारका ओझिला मुद्धालाई पनि सहजताका साथ काँध थाप्न पछि पर्दैन । यस संस्थाले लोकतन्त्र, मानव अधिकार, युवा, महिला लगाएतका मुद्दामा केन्द्रिकृत भएर पैरवी गर्दै आएको छ ।
युवा कार्य नेपाललगायत १५ वटा संघसंस्थाको सहकार्यमा गठित आरएचआरएन प्लेटफर्मले राजनीतिमा संलग्न युवाबीच सहकार्य तथा सुरक्षित गर्भपतनको मुद्दा स्थापित गर्न राजधानीको गोदावरीमा बृहत छलफल सम्पन्न गरेको छ ।
गोदावरीमा सम्पन्न छलफलमा विभिन्न राजनीतिक दल निकट संगठनका युवाका बीच सुरक्षित गर्भपतनसम्बन्धी बुझाइमा साझा धारणा तयार पार्नका लागि, यसम्बन्धी वकालत, तरिका, प्रकार र रणनीतिका बारेमा विस्तृत धारणाको विकसित गर्ने, सही तथा आम बुझाइ निर्माण तथा आवश्यक हस्तक्षेपका लागि साझा मञ्च तयार गर्ने विषयमा चर्चा गरिएको थियो ।
साथै सुरक्षित गर्भपतनलगायत मुद्दाप्रति सहभागीहरूमा संवेदनशीलता वृद्धि गर्ने र प्रजनन स्वास्थ्यसम्बन्धी कानुनका बारेमा जानकारी गराउने उद्देश्यसमेत कार्यक्रमको रहेको थियो । अप्रिल २० देखि २२ सम्म भएको तीनदिने छलफलमा सुरक्षित गर्भपतन, एलजिबिटीआइक्युसम्बन्धी कानुन र नीतिका बारेमा विशेष चर्चा गरिनुका साथै मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन २०७५ का विषयमा विशेषज्ञ र सहभागीबीच अन्तक्र्रिया सम्पन्न भएको थियो ।
युवा कार्य नेपालले भने केहि समययता स्थानीय तह, जिल्ला तथा केन्द्र स्तरमा युवाको मानवअधिकार, शान्ति, सुरक्षित अप्रवासन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बद्ध क्षेत्रमा काम गर्दै आएको छ ।
असुरक्षित गर्भपतनका कारण अकाल ज्यान गुमाउनेदेखि विभिन्न रोगको सिकार हुन पुगेका तमाम महिलाका समस्यालाई मध्यनजर गर्दै यस संस्थाले सुरक्षित गर्भपतनको मुद्दा स्थापित गर्नका लागि नेपालभर असुरक्षित गर्भपतनका अभिमुखिकरण दिदै आएको छ ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक देश भए पनि प्रायः समुदायमा अझै पनि पुरुष नै निर्णयकर्ताको रुपमा हावी रहँदा महिलाका समस्या केवल समस्यामा मात्रै सिमित नहोस् भन्ने ध्यये युवा कार्य नेपालको रहेको छ ।
छिटो विवाह, कम शिक्षा अनि स्वास्थ्य सेवाको अवसर नपाउनाले महिला स्वास्थ्यमा दीर्घकालीन समस्या खडा भएको पाइनछ । दक्षिण एसियामा नै स्वास्थ्य स्थितिमा नेपाली महिलाको स्थिति कमजोर छ ।
मातृशिशु मृत्युदर चाहेअनुरुप कम भइसकेको पाइन्दैन । साथै पाठेघर खस्ने, पाठेघरको मुखको क्यान्सर जस्ता प्रजनन् स्वास्थ्यमा प्रतिकूल असर परिरहेका छन् यस्ता विषयमा पनि यस्ता संघ संस्थाहरुको ध्यान पुग्नु आवस्यक देखिन्छ ।
अतः महिलाका लागि बलियो कानुन, सहज अनि उच्च शिक्षा, अवसर, महिला स्वास्थ्य समस्याका समाधानका लागि निःशुल्क स्वास्थ्य सेवा, जनचेतना, दाइजो तथा छाउपडी प्रथाको अन्त्य अनि राजनीतिक अवसर सहज भए महिला विकासमा टेवा पुग्ने कुरामा दुई मत नहोला ।
आरएचआरएनको सहयोगमा भएको सुरक्षित गर्भपतनको मुद्दा स्थापित विषयक छलफलमा अबका दिनमा सबै जना अलि फरक तरिकाले यौन शिक्षा तथा सुरक्षित गर्भपतनसम्बन्धी बुझाइमा साझा धारणा तयार पार्नका लागि सही बुझाइ आवश्यक रहेको बारेमा जानकारी तयार रहनुपर्ने निश्कर्ष निकालिएको छ ।