भियतनामको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानी हानोइमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ ।
त्यहाँका प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । प्रधानमन्त्री ओलीको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको छ ।
यसैबीच दुई समकक्षीबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्धका साथै साझेदारीको विषयमा छलफल भएको बताइएको छ । छलफलपछि दुई देशबीच कुटनीतिक तथा विशेष राहदानी बाहकहरुलाई भिसा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुवै सहमतिमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका हुन् । त्यस्तै दुई देशबीच व्यापार तथा लगानी साझेदारी सम्बन्धी फ्रेमवर्कसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन आसयपत्रमा दुई देशका उद्योग मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा हस्ताक्षरसँगै दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । दुई देशबीच १९७५ मा कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो पटक नेपालका प्रधानमन्त्री भियतनामको राजकीय भ्रमणमा गएका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा पहिलो पटक दक्षिण पूर्वी एसियाको भ्रमण पनि हो ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ । नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको बहुमतको सरकार बनेको छ भनेञ भियनताममा पनि कम्युनिस्ट पार्टीको सरकार छ ।