संस्कृतिविद् तथा वाङमय शताब्दीपुरुष सत्यमोहन जोशी आजदेखि एक सय वर्षमा प्रवेश गर्नुभएको छ ।
यसै अवसरमा ललितपुर महानगरपालिकाले आज उहाँको सम्मानस्वरुप सार्वजनिक बिदाको घोषणा गरेको छ । संस्कृतिविद जोशीको सम्मानस्वरुप स्थानीय सरकारको अधिकार प्रयोग गरेर आफू मातहतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।
साहित्य र संस्कृतिको अन्वेषण, सिर्जना एवं मानव कल्याणका काम गर्दागर्दै जोशीको उमेर एक शताब्दी पुगेको छ । विक्रम सम्बत् १९७७ बैशाख ३० मा ललितपुरको बखुम्बहालमा जन्मिनुभएका जोशी एक सय बर्षमा पदार्पण गर्नुभएको छ।
नेपालीको औसत आयु बल्ल करिब ७० बर्ष पुग्दैछ । तर जोशी यस्ता पात्र हुनुहुन्छ जसले सयबर्षको जीवन जिउनुभएको छ । एक शताब्दीको सक्रिय जीवनमा उहाँले पटक–पटकका राजनीतिक परिवर्तन देख्नुभएको छ । सामाजिक र सांस्कृतिक रुपान्तरणको अगुवाई मात्र होइन, आफ्नै अगाडी समाज कसरी परिवर्तित हुँदै अगाडी बढिरहेको छ लेखाजोखा गर्न पाउनु भएको छ ।
निरन्तर साहित्य अन्वेषणमा रहनुभएका जोशीसंग अथाह ज्ञानको भण्डार रहेको छ । एक शताब्दीमा उहाँले देख्नुभएको समाज, यसभित्रका प्रबृत्ति, पात्र, जीवन जिउने कला, आहार विहार लगायतका बिषयमा पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजनहरुमा आजभोली दैनिक जसो प्रकाशन, प्रशारण भइरहेका छन्।
नेपाली तथा नेवारी भाषामा ६० भन्दा बढी पुस्तक प्रकाशित गर्नुभएका जोशीले तीन कृतिका लागि मदन पुस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारका तर्फबाट उज्जवल कीर्तिमान राष्ट्रद्धीप र पद्मश्री साधना सम्मानबाट सम्मानित उहाँ काठमाडौं विश्वविद्यालयको मानार्थ विद्यावारिधीबाट बिभूषित हुनुहुन्छ ।
महानगरपालिकाले जोशीको सम्मानमा विभिन्न कार्यक्रमसमेत गर्दैछ । महानगरपालिकाका अनसार आज बिहान मंगलबजारबाट बाजागाजासहित नगर परिक्रमा गराइ पुल्चोकमा विशेष कार्यक्रम गर्ने तय भएको छ ।
रक्तदान तथा दीपावली कार्यक्रम राखेको महानगरपालिकाले आजै महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ । जोशीको जन्म शताब्धी विभिन्न कार्यक्रम गरेर वर्षभरि नै मनाउने निर्णय महानगरले गरेको छ ।