प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हँुदै गएको टिप्पणी गरेका छन् । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सेवाग्राहीहरु झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने भएकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यवहारिक बनाउनु पर्ने बताए । मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथि बाटै हुनुपर्ने उल्लेख गरे ।
नियम कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने भन्दै उनले यसका लागि आफ्नै छातीमा हात राखेर अघि बढ्नुपर्ने उल्लेख गरे । नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएको कर्मचारीहरुमा आतंक सृजना गर्ने कार्य गरेको उनले दाबी गरे ।