उद्योगले उखुको भुक्तानी समयमै नदिएपछि सर्लाहीका उखु किसान आन्दोलित बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाउँदै किसानले चिनी उद्योगले ७२ घण्टाभित्र भुक्तानी नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर एन्ड जेनरल इन्डस्ट्रिज प्रालिले ३ आर्थिक वर्षको र गोडैता नगरपालिका स्थित बगदहमा रहको श्री महाँलक्ष्मी सुगर प्रालिले ५ महिनाको भुक्तानी दिन बाँकी छ ।
भुक्तानी तुरुन्तै दिनुपर्ने माग गर्दै किसानले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा ७२ घण्टाभित्र भुक्तानी नदिए चक्का जाम, बजार बन्द, अनशनसहित जिल्लानै ठप्पपार्ने उल्लेख छ । किसानको नेतृत्व गर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रले उद्योगीको रबैयाको कारण किसान मारमा परेको बताए ।
राज्यले निर्धारण गरेको ५ सय ३६ रुपैया २८ पैसाको ठाउँमा उद्योगले ५ सय मात्र उल्लेख गरेको छ । राज्यको अनुदान रकम ३६ रुपैया घटाउँदा ४ सय ७१ रुपैयाँ हुनुपर्नेमा पुर्जीमा ४ सय ३५ रुपैयाँ मात्र उल्लेख गरेर किसानलाई दिएको छ । भुक्तानी नदिँदा उखुमा आश्रित रहेको किसानको बिच्चली भएको छ ।