त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका एक अधिकृतविरुद्ध २ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले अधिकृत अर्यालविरुद्ध बिहीबार विशेष अदालतमा २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँको भ्रष्टाचार मुद्दा चलाएको हो । अख्तियारका अनुसार अर्यालले २ करोड भन्दा धेरै स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अर्यालविरुद्ध त्यही रकम बराबरको विगो तथा जरिबाना, सम्पत्ति जफत र कैद सजायको माग दाबी गरिएको हो ।
अर्यालले २०५९ साल भदौ २३ गते सरकारी सेवामा प्रवेश गरेपछि तलब भत्ता, कर्जा, कृषि आय, अंश लगायतबाट २ करोड ४९ लाख ९२ हजार रुपैंया आर्जन गरेको देखिएको छ । तर अर्यालले आफू र श्रीमती सरितासमेतको नाममा राखेका र लगानी गरेको चल अचल सम्पत्ति ४ करोड ५६ लाख ८१ हजार रुपैयाँ बराबरको देखिएको अख्तियारले जनाएको छ । अनुसन्धानका क्रममा २ करोड ४९ लाख ९२ हजार रुपैयाँको मात्रै स्रोत खुलेकोले बाँकी सम्पत्ति अवैधरुपमा आर्जन गरेको पाइएको अख्तियारले ठहर गरेको छ ।