प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि युरोप भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री ओली आज साँझ स्वीट्जरल्यान्ड प्रस्थान गर्ने कार्यक्रम छ ।
३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लागेका प्रधानमन्त्री ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम संगठनको एक सय वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले स्वीस इन्टेरियर मिनिस्टर एवंम् पूर्व राष्ट्रपति अलिन ब्रेसेटसँग दुई पक्षीय वार्ता गर्नेछन् ।
उनले जेनेभास्थित नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभाबाट बेलायत जाने प्रधानमन्त्री ओलीले ११ जुनमा प्रधानमन्त्री टेरेसा मे सँग भेट गर्ने कार्यक्रम छ । त्यसै दिन प्रधानमन्त्री ओलीले अक्स्फोर्ड युनिभर्सिटीमा नेपालीहरुसँग अन्तरक्रिया गर्नेछन् ।
१२ जुनमा प्रधानमन्त्री ओली फ्रान्समा पुगेर राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनले नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुनेछन् । त्यसक्रममा ३२ अर्बको लगानीसहित नेपाली आकाशमा प्रक्षेपण गर्न लागिएको भू–उपग्रहसम्बन्धी सम्झौतामा समेत नेपाल र फ्रान्सले हस्ताक्षार गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको टोलीमा उहनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र वैदेशिक सल्लाहकार राजन भट्टराईलगायत सहभागी हुनेछन् ।
युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।