सुनकुडा । धार्मिक कार्यका लागि भारतको हरिद्वार पुगेका बझाङ सुनकुडाका जगत बहादुर मल्ल ९ दिनदेखि सम्पर्क बिहीन भएका छन् । स्थानीय गाउँलेसँगै उनी हरिद्वारमा धार्मिक कार्यका लागि जगन्नाथका पुजारीसँगै गएका उनको परिवारले जनाएको छ ।
गत जुन ३ तारिकमा गंगा नदिमा पाठपूजा गरिहेको बेला पेटमा समस्या आएपछि उनी शौचालय गएका थिए । शौचालय त गए तर लामो समयसम्म पनि उनी फर्केनन् । गाउँलेले यताउति खोजी गर्दा नभेटेपछि उनीसँग गएकाहरुले परिवारलाई जानकारी दिएका थिए ।
खबर पाउने बित्तिक्कै उनका आफन्त खोजीका लागि हरिद्वार पुगे । तर ९ दिन वितिसक्दा पनि कुनै अत्तोपत्तो पाइएन । उनका कान्छा छोरा सुरेन्द्र मल्ल र नाती पुष्कर मल्लले ४ दिनसम्म हरिद्वारका आश्रम, अस्पताल तथा नदिको किनार खबै खाजी गर्दा पनि नभेटेको जनाए । खोजी कार्यका लागि भारतीय प्रहरीलाई गुहारे पनि केही खबर नआएको पुष्कर मल्लले जानकारी दिए ।
उनी सम्पर्क बिहीन भएपछि घरपरिवारमा चिन्ता छाएको छ । उमेर बढी भएकाले उनी आफ्नो स्थान पहिचान नगर्दा आत्तिएर अर्को ठाउँ गएको हुन सक्ने उनको परिवारले जनाए ।
उनको खोजीका लागि आजै फेरी उनका आफन्तहरु हरिद्वार पुगेका छन् । ७० वर्षिय मल्ल सुनुकडा उच्च माविका पूर्व शिक्षक पनि हुन ।