सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले गुठी प्रथालाई सामन्तवाद भनेको भन्दै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् ।
शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा मानन्धरले गुठीलाई सामन्ती पं्रथा जोडेकोमा आपत्ति जनाउँदै संचारमन्त्री बास्कोटाको राजीनामा मागेका हुन् । उनले भने, “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन । ”
सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप थियो । मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजीनामा नै माग्नुपर्ने अवस्था आएको बताए । “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” मानन्धरले भने । मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो ।
प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्धरले दिएका छन् । “म यहीँबाट भन्न चाहन्छु, यदि प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाडौ के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाव हो ।” उनले भने । बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ ।