मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ ।
जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि सरकार लागिपरेको हो ।
पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्नेछ । त्यसैगरी याङ्ग्री र लार्केखोलाबाट पनि १७÷१७ करोड लिटर पानी लैजाने सरकारको लक्ष्य छ ।
यो योजना पूरा भए मेलम्चीबाट अहिले लैजान लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । याङग्री र लार्केखोला क्षेत्रभित्रका जग्गाधनीलाई मुआब्जा लिनका लागि सूचनासमेत जारी गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडामा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३ सय ७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठटहराको मुआब्जा वितरण गर्न शुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले १५ दिनभित्र मुआब्जा लिनका लागि सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन् ।