मजदूर आन्दोलनका कारण राजधानीको पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द भएको छ । व्यावसायिक सुरक्षा नभएको भन्दै व्यवस्थापनले होटलको सम्पूर्ण सेवा बन्द गरेको व्यहोरासहितको पत्र नेपाल स्टक एक्सचेन्जलाई पठाउँदै बन्द गरेको छ ।
सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले गत जेठ ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले भने मजदूर बिनाशर्त काममा फर्किनुपर्ने अडान लिएको छ ।
दुवै पक्षको अडानका कारण होटल बन्द भएको हो । मजदूरको आन्दोलनका कारण होटल सञ्चालनको वातावरण नरहेकाले अनिश्चितकालका लागि सेवा बन्द गरिएको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले जानकारी दिए । “प्रशासनले दुई पटक सूचना जारी गरी काममा फर्कनुस् भन्दा उहाँहरु (मजदूर, कर्मचारी)ले मान्नुुभएन, पाहुनाको सुरक्षा त गर्नैप¥यो, त्यसैकारण सेवा बन्द गरिएको हो, बुकिङ रद्द गरी यहाँ भएका पाहुनालाई अन्यत्र सारिएको छ,” उनले भने ।
मजदूर बिनाशर्त काममा फर्किएको अवस्थामा मात्रै होटल सञ्चालन गर्न सकिने व्यवस्थापनको तर्क छ । हायात इन्टरनेशनललाई सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा सञ्चालनमा कठिन हुने निर्देशक परियारको भनाइ छ । उनका अनुसार छ दिनदेखि होटलको सेवा प्रभावित हुदाँ दैनिक रु ५० लाखका दरले करीब रु चार करोडको क्षति भएको छ । होटल पूर्ण क्षमतामा सञ्चालनमा आउन करीब छ महिना लाग्ने बताइएको छ ।