भक्तपुरमा आइतबार दिउँसो भएको महिला हत्यामा संलग्नका आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिरहा घर भइ हाल भक्तपुर बस्ने मोहम्मद नौसाद, भारत घर भएका अर्जुन कुमार भनिने भोला कुमार र भारतीय नागरिक मोहम्मद रहिश छन् । उनीहरुलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । यस्तै, मृतककी छोरी ईश्वरी भट्टराई पनि पक्राउ परेकी छन् ।
उनीहरूलाई अपराध महाशाखाको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । अभियुक्त सार्वजनिक गर्दै अपराध महाशाखाका प्रमुख सहकुल थापाले छोरीले आफ्नो अवैध सम्बन्ध लुकाउन आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारी दिए ।
“आमालाई मार्नका लागि ईश्वरीले १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मार्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रेटेको अनुसन्धानमा खुलेको थापाले बताए। मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ ।