काठमाडौं। अहिले सामाजिक संजालमा मात्र नभएर संसदमा समेत भारतीय फिल्फ अवार्ड आइफाको गरमा गरम वहस छ । आखिर किन र कस्को चाहना तथा स्वार्थमा यो कार्यक्रम हुँदै छ भन्ने चासो सबैको रहेको छ ।
नेपालको हित विपरित रहेको यो कार्यक्रम कस्को चाहनामा हुँदै छ बुझ्नको लागि प्रधानमन्री केपी ओलीको भारत भ्रमणदेखिको विषयवस्तु बारे जान्न जरूरी हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको २०७४ चैतको भारत भ्रमण दलमा नेपाली कलाकारहरु राजेश हमाल र दिनेश डिसी। यी दुई नेपाली कलाकार टोलीमा पर्नुको एउटै कारण थियो नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीले बलिउड कलाकारसँग अन्तरक्रिया गर्ने तालिका ।
बलिउड कलाकारसँग गर्ने भनिएको अन्तरक्रियामा शाहरुख खान, रणवीर सिंह, दीपिका पादुकोडजस्ता अब्बल कलाकार उपस्थित हुने भनिए पनि उनीहरू कार्यक्रममा सहभागी भएनन्। जहाँ जया प्रदा, राजपाल यादव, अमिसा पटेललगायतका बलिउड कालाकार उपस्थित भए। यही भेटघाटबाट भारतीय कलाकार जया प्रदासँग ओली निकट भएका थिए ।
प्रधानमन्री केपी ओली डफली बाले डफली बजा गीतका फ्यान हुन् । यो गीत ओलीले जेलमा रहँदा सुनेका थिए । त्यही वेलादेखी यस गीतमा अभिनय गर्ने जया प्रदाको फ्यान बनेका थिए ओली ।
प्रधानमन्त्री र भारतीय कलाकारबीच भएको सो छलफलमा जी टिभीका मालिक डा.सुभाश चन्द्रले भारतीय कलाकारमार्फत ‘जी सिने अवार्ड’ नेपालमा आयोजना गर्ने प्रस्ताव ओलीसमक्ष राखेका थिए। प्रस्तावमा ओली सकारात्मक देखिए ।
उनी स्वदेश फर्किएसँगै केही सञ्चार माध्यमले ‘काठमाडौंमा जी सिने अवार्ड हुने’ भनी समाचार संम्प्रेषण समेत गरेका थिए ।तर सो कार्यक्रम रद्द भयो । के कारणले त्योहुन सकेन भन्ने कुरा अहिलेसम्म गोप्य छ । यहीबाट हाल विवादमा परेको आइफा अवार्ड काठमाडौंमा आयोजना गर्ने विषय शुरू भएको ।
ओलीले भारतको भ्रमणको क्रमा बाचा गरेको जी सिने अवार्ड भएन तर जया प्रदासँग प्रधानमन्त्रीको राम्रो सम्बन्ध स्थापित भयो । २०७५ असोजमा प्रधानमन्त्रीले उनलाई नेपालको पर्यटन प्रवद्र्धन दूत नै बनाए । (हेर्नुस सरकारले दूत बनाएको पत्र) त्यो पनि मन्त्रिपरिषदबाट निर्णय गराएर ।
पर्यटन दूत बनेपछि जयाको काठमाडौं आगमन बाक्लियो। उनी काठमाडौं आएसँगै प्रत्येक पटक प्रधानमन्त्री निवास बालुवाटार पुग्थिन्।
पार्टीका बरिष्ठ नेता तथा मन्त्रीहरुलाई उपलब्ध नहुने ओलीको समय जया प्रदाका लागि सहजै उपलब्ध हुन्थ्यो। ‘प्रधानमन्त्रीसँगको सुमधुर सम्बन्ध उपयोग गर्दै एक दिन उनले अन्तर्राष्ट्रिय इण्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न प्रस्ताव राखिन्।
भिजिट नेपला २०२० का लागि त्यो कोशेढुंगा हुने उनको विचार थियो। प्रस्तावमा प्रधानमन्त्री ओली सहमत भएपछि यसको थालनी भएको हो’, प्रधानमन्त्री निकट स्रोत भन्छ।
बालुवाटारमा प्रधानमन्त्री स्वयंको उपस्थितिमा पटक–पटक भएका छलफलपछि आइफाको विशेष टोली काठमाडौं आयो। उसले काठमाडौंका सम्भाव्य स्थानको अवलोकन ग¥यो।
आर्मी मुख्यालयमा रहेको खेल मैदानको समेत अवलोकन गर्ने काम भयो। समारोहस्थल त्यहीँ बनाउने सहमति भयो। यद्यपि प्रधानसेनापतिसहितका बरिष्ठ सैनिक अधिकारीहरु यो विषयमा आफू जानकार नभएको बताउँछन्।
यो विषय यति गुपचुप भएको थियो कि प्रधानमन्त्री निवासमा पनि सबैले थाहा पाएनन्। जयाको बाक्लो बालुवाटार आवत–जावत भने सबैले नियालिरहेका थिए।
‘जयाजी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार आउने–जाने गरिरहनुहुन्थ्यो। आइफाको विषयमा अलिअलि हल्ला त सुनेका हो तर यो कुरा मन्त्रिपरिषदबाटै निर्णय भएर आउला र यहाँसम्म पुगेको होला भन्ने कल्पना पनि गरिएको थिएन’, बालुवाटार स्रोतले भन्यो, ‘पर्यटन बोर्डले यसको तालमेल मिलाएको हो। प्रधानमन्त्रीले बोर्डसँगै कुरा गरेर सबै सेट गर्ने काम भएको हो।’