नेपालको पानी विदेश निर्यात गर्ने उदेश्यले रुद्र गङ्गा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रिङ पानीको उत्पादन सुरु गरेको छ ।
शुक्रबार विशेष कार्यक्रम गरी रसुवा ब्रान्डको पानीको सुरुवात भएको औपचारिक उद्घाटन गर्दै खानेपानी मन्त्री बिना मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताएकि छिन् ।
हाम्रो पानी प्राकृतिक रूपमा खानयोग्य भएको र अरु देशको भन्दा स्वच्छ , सफा भएकोले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उनको दाबी छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड गाउँपालिका–६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारी जानकारी दिए ।
उनले जर्मन प्रविधि र चीन, भारत, र जापानमा बनेका अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटिक रुपबाट पानीको उत्पादन कार्य भैरहेको बताए ।
कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ । नेपाली बजारमा तुरुन्त र देश बाहिर खाडी मुलुकहरूमा आउँदो डिसेम्बर सम्ममा पानी निर्यात गरिने उनले बताए ।