नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
राजधानीको याक एण्ड यति होटलमा चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो । चीनले मनाङमा अस्पताल निर्माणका लागि ३५ करोड आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ ।
त्यस्तै भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक संस्थामा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा हस्ताक्षर हुनु अघि नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव शंकरदास वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी थिए ।
त्यस्तै चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोगका उपाध्यक्ष, विदेशमन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारीहरु वार्तामा सहभागी थिए । वार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।