बाल सचेतना केन्द्र नेपालको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जनकल्याण मावि, महाँकाल ,बौंद्धमा आयोजित कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले संस्थाले समाजमा उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्य गर्दै अगाडि बढ्न सुझाव दिए ।
उनले यस आर्थिक वर्षमा बाल सचेतना केन्द्र नेपाललाई पाँच लाख रुपैया रकम विनियोजन गरेको र आफुहरु पनि संस्थासँग सहकार्य गरेर जान चाहेको बताए ।संस्थाको तर्फबाट उपस्थित सबैलाई संस्थाका बोर्ड सदस्य अन्जना श्रेष्ठले मन्तव्य मार्फत स्वागत गरेकी थिईन् ।
संस्थाका अध्यक्ष बाबुराम फुयाँलको अध्यक्षतामा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७५ ७६ को वार्षिक प्रगति, आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संचालक नारायण प्रसाद अधिकारीले स्थानीय सरकार अधिकार सम्पन्न भएतापनि संघसंस्थाप्रति सहयोग नगरेको गुनासो गरे ।
भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पा, वडा नम्बर ६ का कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ, सेवक नेपालका संयोजक रामदत्त जोशी, वरिष्ठ साहित्यका एवं कवि डा.विप्लव ढकाल,जनकल्याण माविका प्रशासक सुरेश कुमार कट्वाल, बुढानिलकण्ठ नगरपालिका १२ का सम्भु भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
यसैबीच, संस्थाले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान पनि गरेको थियो ।
कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न पनि आफुहरु लागिरहेको संस्थाका अध्यक्ष फुयाँलले बताए ।
संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले बालबालिकाहरू आफैँ आफ्ना अधिकारको प्रयोग गर्न नसक्ने र त्यसका निम्ति परिवार, समाज र राज्यबाट पोषण, स्वास्थ र शिक्षाको उपयुक्त अवसर पाउनु उनीहरूको अधिकार रहेको बताए ।
यसैगरी बालसचेतना केन्द्र नेपालको अध्यक्षमा आठौ वार्षिक साधारण सभाबाट पनि बाबुराम फुयाल नै निर्वा्चित भएका छन् । उपाध्यक्षमा नारायण प्रसाद अधिकारी,सचिवमा बुद्धिमान लिम्बु र कोषाध्यक्षमा शर्मिला उप्रेती चयन भएका छन् ।
यस्तै सदस्यहरुमा झलकराज उप्रेती, फुलमाया लामा, उर्मिला श्रेष्ठ,सरिता श्रेष्ठ,मायालु लामा,अन्जना श्रेष्ठ,कल्पना अर्याल,जगन्नाथ फुयाँल,हिरा कुमारी बस्नेत, रीता केसी,अनिता अछामी रहेका छन् ।