सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु संक्रमण आपतकालिन अवस्था घोषणा गर्नुपर्ने तहसम्म नरहेको स्पष्ट पारेका हुन् ।
नेपालमा मात्रै नभई विश्वका अन्य मुलुकमा पनि डेंगुको संक्रमण देखिएको उल्लेख गर्दे उनले नेपालको डेंगु संक्रमण जटिल किसिमको नभएको दाबी गरे ।
उनले डेंगु लगायत प्रकोप नियन्त्रणका लागि संघीय सरकारबाट प्रदेशमा ६ करोड १७ लाख र ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपैया पठाईएको जानकारी गराए । त्यसैगरी, स्थानीय तहका विभिन्न जिल्लामा डेंगु रोग फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान संचालन गर्नुको साथै जनचेतनामुलक कार्यक्रम पनि भईरहेको उनले बताए ।
मुलुकभरका १ सय १८ वटा अस्पतालबाट डेंगु सम्बन्धी तथ्यांक अध्यावधि गर्ने काम भईरहेको पनि उनले जानकारी दिए । डेंगुबाट हालसम्म मुलुकभर ६ जनाको मृत्यु भइसकेको छ ।