यो साता बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ ।
विहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद्ले वरिष्ठ नेत्ररोग विशेष डा. सन्दुक रुइतलाई ५ लाख रुपैयाँ राशीको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय भएको छ । त्यस्तै बैठकले नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकन सम्बन्धि तेस्रो बैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्सीय वार्ता टोली गठन गरिएको छ ।
त्यसैगरी भीमबहादुर शेर्पा सहित २ सय ८२ कैदीहरुको कैद, दण्ड, जरिवान, विगो, सर्वस्व र बाँकी कैद सजाय माफी दिनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
सरकारले प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
बैठकले तेह्रौँ दक्षिण एसियाली खेलकुद २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७६ स्वीकृत गरेको छ ।