नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
१५० औं गान्धी जयन्तीको अवसर पारेर बुधबार काठमाडांैमा आयोजित कार्यक्रममा सभापति देउवाले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गर्दै उनका अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने बताए ।
गान्धीले अहिंसाको बलमा तत्कालीन अंग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाई थियो ।
सभापति देउवाले गान्धीलाई विश्वकै विकेन्द्रीकरणका प्रवक्ताको रुपमा पनि स्मरण गराए । कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताए । उनले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आशिर्वाद रहेको स्पष्ट पारे ।