नेपाल र चीनबीच १८ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा समझदारी पत्रहरुको आदानप्रदान भएको थियो ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गर्नुभयो ।
प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी हुनुहुन्थ्यो । समझदारी पत्रमा टोखा–छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाण्डौ र तातोपानी–काठमाण्डौ सडक स्तरोन्नति, मदन भण्डारी विश्व विद्यालयलगायत विषय समेटिएका छन् । समझदारी पत्र विशेष गरेर पूर्वाधार विकासमा केन्द्रित छ ।
स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विभिन्न विषयमा समझदारी पत्र आदान प्रदान गरिएको छ । यस्तै काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्र पनि आदानप्रदान गरिएको छ ।