मकवानपुर । मकवानपुरको मनहरीमा प्रदेश ३ सरकारले कागज उद्योग स्थापना गर्ने भएको छ ।
प्रदेश–३ सरकारले निजी क्षेत्र सँगको साझेदारीमा कागज उद्योग स्थापना गर्ने तयारी गरेको हो । यसका लागि डीपीआर निर्माण गरी काम अघि बढाउने तयारी भइरहेको छ ।
झण्डै दुई अर्ब रुपैयाँको लगानीमा मनहरीमा कागज उद्योग स्थापनाको लागि तयारी गरिएको प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताए । बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको हो ।
चालू आर्थिक वर्षमा कागज उद्योगको डीपीआरका लागि ५० लाख रुपैयाँ रकम छुट्याइएको छ । निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने मोडालिटी बनाउन लागेको बताए ।
प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव नहुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् । मनहरीमा सरकारी जमिन ८ हजार रोपनी नाप जाँच गरिएको छ ।
अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले बताए ।