नेपालमा यही मंसीर ५ र ६ गते ‘ऊर्जा शिखर सम्मेलन’ आयोजना हुने भएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो शिखर सम्मेलन आयोजना हुने औपचारिक जानकारी गराएको हो ।
नेपालको उर्जाको उत्पादन, बजारीकरण र त्यसका लागि आवश्यक बाह्य लगानी जुटाउने मुख्य उद्देश्यका साथ यो शिखर सम्मेलन आयोजना गर्न लागिएको इप्पानका वरिष्ठ उपाध्यक्ष कुमार पाण्डेले जानकारी दिए । काठमाडौंमा आयोजना हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
शिखर सम्मेलनमा भारत, बंगलादेश, चीन, क्यानडा, नेदरल्याण्ड, बेलायत, अमेरिका तथा जापानसहित विभिन्न देशका ७ सय भन्दा बढी उर्जा क्षेत्र विज्ञहरु सहभागी हुनेछन ।
सो शिखर सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उर्जा क्षेत्रमा आवश्यक लगानीको विषयमा कार्यपत्र प्रस्तुत गर्ने इप्पानले जनाएको छ ।